काठमाडौं । काठमाडौं महानगरपालिकाको ७० किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । ‘महानगर उज्यालो’ कार्यक्रम अन्तर्गत महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरपालिकाको ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्ने तयारी भएको हो । उनले प्राधिकरणले सबै कामको जिम्मा लिएको बताए ।
‘हामीले लगानी मात्र गरेका हौँ, सबै काम प्राधिकरणले गर्ने छ, ठेक्का लगाउनेदेखि बत्ती जडान गर्ने सबै काम प्राधिकरणले गर्ने छ,’ मानन्धरले चाणक्य पोष्टसँग भने ।
यस्तै विद्युत प्राधिकरणले हाल काठमाडौंका मुख्य सडकहरुमा सडक बत्ती राख्न ठेक्का आवहान गरी हाल मूल्यांकनको चरणमा रहेको जनाएको छ । प्राधिकरणका इन्जिनीयर सागरमणी ज्ञवालीले केही हप्तामा ठेक्का लगाएर काम सुरु गर्ने बताए ।
‘काठमाडौंका मुख्य मुख्य सडकमा सडक बत्ती राख्ने गरी तयारी भइरहेको छ, ठेक्का आवहान गरिसकेर मूल्यांकनको चरणमा केही हप्तामा जडानको काम सुरु गर्ने छौँ,’ ज्ञवालीले चाणक्य पोष्टसँग भने ।
पहिलो चरणमा एयरपोर्ट, नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की लगायतका स्थानमा सडक बत्ती जडान गर्न लागिएको हो ।
झण्डै ७ करोड रुपैयाँ लगानीमा ७० किलोमिटर सडकमा आधुनिक बत्ती जडान कार्य गरिनेछ ।