पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

उक्त आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र यसबाट मुलुकले यथेष्टरुपमा लाभान्वित हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको जनाउँदै उनले विमानस्थलको भरपुर प्रयोगका लागि गर्नुपर्ने काममध्येको महत्वपूर्ण काम भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए ।

पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस १७ गते सो विमानस्थलको उद्घाटन गरेका थिए । चिनियाँ ऋण सहयोगमा उक्त विमानस्थल निर्माण गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री पौडेलले कोरोना महामारीका बाबजुद पनि पोखरा विमानस्थल समयमै निर्माण भएको बताए ।

बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि आगामी माघ २५ गते बुधबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पदबाट राजिनामा दिएसँगै लुम्बिनी प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको पद रिक्त छ । उनी राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित थिए ।

काठमाडौंको ७० किमी सडकमा 'स्मार्ट लाइट' जडान गरिँदै Read Previous

काठमाडौंको ७० किमी सडकमा 'स्मार्ट लाइट' जडान गरिँदै

अब श्रम स्वीकृति लिन काठमाडौं धाउन नपर्ने, अब सातै प्रदेशबाट सेवा पाइने Read Next

अब श्रम स्वीकृति लिन काठमाडौं धाउन नपर्ने, अब सातै प्रदेशबाट सेवा पाइने