काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सो नीति संशोधन गरिएको जानकारी दिएका हुन् ।
गतवर्षदेखि नै सुझाव लिएको र सोही आधारमा मार्गदर्शन जारी गरेर लागू गरेको राष्ट्र बैंकले जनाएको छ । व्यवसायी र नयाँ अर्थमन्त्रीको चर्को दबाबपछि राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालोमा कुनै हालतमा चालु पूँजी कर्जा सम्बन्धी व्यवस्था संशोधन गर्न नसकिने बताउँदै थिए । तर, नयाँ अर्थमन्त्रीमा नेकपा एकालेका विष्णु पौडेल आएको १० दिनमै उनले पुरानो व्यवस्था संशोधन गरेका हुन् ।
राष्ट्र बैंकले मार्गदर्शन संशोधन गर्दै चालु पूँजी कर्जा तिर्ने समयावधि लम्ब्याएको छ । सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । ऋणीले यसअघि लिएको ऋण अबको साढे २ वर्ष भित्र ५ किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार ऋणीले पहिलो किस्ता आगामी असार मसान्तसम्म तिनुपर्नेछ । यस बेला ऋणीले कुल ऋणको १० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ ।
त्यसैगरी दोस्रो किस्ता २०८० पुसमा तिर्नुपर्नेछ । सो बेला ऋणको २० प्रतिशत रकम तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, तेस्रो किस्ता २०८१ असार मसान्तमा २० प्रतिशत, चौथो किस्ता २०८१ पुस मसान्त २० प्रतिशत र अन्तिम किस्ता २०८२ असार मसान्तमा ३० प्रतिशत तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तो कर्जाको अवधि, भुक्तानी तालिका, तथा किस्ता रकम परिवर्तन गर्न पाइने छैन । साथै, यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क लिन पाउने छैनन् ।