काठमाडौं । सेयर बजारमा उछाल आएको छ । यस साता ३४ अंकको वृद्धिपछि मंगलबार ३ अंकको करेक्शन आएको नेप्सेमा आज फेरि उछाल आएको हो ।
सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले बढेर साढे ३ अर्ब नाघेको छ ।
बुधबार नेप्से ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको छ । यसदिन २५८ कम्पनीको ३ अर्ब ५० करोड रुपैयाँ बढीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार उपसमूह सबैभन्दा धेरै ९.७४ प्रतिशतले बढेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावर र एनआइसी एशिया बैंक १० १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज झन्डै डेढ दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । हिमालयन डिस्ट्रीलरी, साल्ट ट्रेडिङ, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, कालिका पावर, आरएसडीसी लघुवित्त, बाराही हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त, सबैको लघुवित्त, निर्धन उत्थान, सेन्टर फाइनान्स र समता लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।