काठमाडौं । देशभरमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या करिब ९ हजार पुगेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार २०७६ को भदौ मसान्तसम्ममा सञ्चालनमा रहेका १८६ बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ९७० पुगेका छन् ।
जसमा सबैभन्दा धेरै शाखा वाणिज्य बैंक र लघुवित्त कम्पनीहरुका रहेका छन् । देशभरमा २८ वटा वाणिज्य बैंकका शाखा ३ हजार ७४० पुगेका छन् ।
लघुवित्त कम्पनीका शाखा संख्या पनि वाणिज्य बैंककै हाराहारीमा रहेको छन् ।हाल सञ्चालनमा रहेका ८९ वटा लघुवित्त कम्पनीका ३ हजार ७१३ वटा शाखा रहेका छन् ।

यस्तै २८ विकास बैंकका १ हजार ३०८ र २२ वटा फाइनान्स कम्पनीका २०९ वटा शाखा रहेका छन् । बैंक तथा वित्तीय संस्थाका शाखाले औसतमा ३ हजार ३०१ जनालाई बैंकिङ्ग सेवा प्रदान गरेका छन् ।
१ महिनामै थपिए १६५ शाखा
आर्थिक वर्ष २०७६/७७को दोस्रो महिनामै बैंक तथा वित्तीय संस्थाका १६५ शाखा थपिएका छन् । राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्ममा ८ हजार ८०५ रहेको बैंक तथा वित्तीय संस्थाका शाखा संख्या बढेर भदौ मसान्तसम्ममा ८ हजार ९७० पुगेका छन् ।
यो एक महिनाको अवधिमा सबैभन्दा धेरै नयाँ शाखा वाणिज्य बैंकहरुले खोलेका छन् । २८ वटा वाणिज्य बैंकहरुले भदौमा ९७ वटा नयाँ शाखा संचालनमा ल्याएका छन् । भदौमा विकास बैंकले २०, फाइनान्स कम्पनीले २ र लघुवित्त कम्पनीले ४६ वटा नयाँ शाखा थपेका छन् ।
काठमाडौंमा मात्र ८२५ शाखा
केन्द्रीय राजधानी समेत रहेको काठमाडौं जिल्लामा बैंक तथा वित्तीय संस्थाका सबैभन्दा धेरै शाखा रहेका छन् । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा काठमाडौंमा बैंक तथा वित्तीय संंस्थाको शाखा संख्या ८२५ रहेका छन् ।

जसमा वाणिज्य बैंकका ६३९, विकास बैंकका १४२ र फाइनान्स कम्पनीका ४४ शाखा रहेका छन् । काठमाडौंमा लघुवित्तका कति शाखा छन् भन्ने राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छैन । यस्तै उपत्यकाका ललितपुरमा १८२ र भक्तपुरमा ९२ वटा शाखा रहेका छन् ।
देशभरमा बैंक तथा वित्तीय संस्थाका सबैभन्दा कम शाखा कर्णाली प्रदेशको मुगु र प्रदेश नं. ५ को रुकुम पूर्वमा रहेका छन् । यी जिल्लामा वाणिज्य बैंकका ६/६ वटामात्र शाखा रहेका छन् भने विकास बैंक र फाइनान्स कम्पनी पुग्न सकेका छैनन् ।
प्रदेश ३ मा मात्रै २५ प्रतिशत शाखा
प्रदेश ३ मा मात्रै बैंक तथा वित्तीय संस्थाका कूल शाखा संख्याको २५ प्रतिशत शाखा रहेका छन् । यस प्रदेशमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त कम्पनीका गरी २ हजार २८०वटा शाखा रहेका छन् ।
भौगोलिक रुपमा समेत पीछडिएको कर्णाली प्रदेशमा सबैभन्दा कम शाखा रहेका छन् । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा जम्मा ३६३ वटा मात्र रहेका छन् ।
यस्तै प्रदेश १ मा १४७५, प्रदेश २ मा १२५४, गण्डकी प्रदेशमा १२१३, प्रदेश ५ मा १७२९ र सुदूरपश्चिम प्रदेशमा ६५६ वटा शाखा रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाका शाखा कुन जिल्लामा कति ?