पर्यटक आकर्षित गर्न कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन, शुल्क कति ?

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्‍याफ्टिङ सञ्चालन गरिएको हो ।

कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलबारदेखि औपचारिकरूपमा नियमित र्‍याफ्टिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब ३ किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताए ।

‘‘हिउँदयाममा नियमितरूपमै सञ्चालन गर्ने गरी र्‍याफ्टिङ सुरुआत गरेका छौँ, निकट भविष्यमा बेनीमा सञ्चालन हुने म्याग्दी महोत्सवले यसलाई थप प्रवद्र्धन गर्ने हाम्रो अपेक्षा छ, कम्तीमा गलेश्वरबाट बेनीसम्म नियमितरूपमै र्‍याफ्टिङ सञ्चालन गर्ने हाम्रो जमर्को रहेको छ,’ उनेले भने ।

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा आएका र बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई समेत आकर्षण गरेको छ । र्‍याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक गराउने भएकाले पर्यटकको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताए।

कालीगण्डकी नदीमा राम्रो सम्भावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ । पर्वतको नयाँ पुलबाट विगत १४ वर्षदेखि र्‍याफ्टिङ गर्दै आएका स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुने भएकाले नियमित र्‍याफ्टिङ सञ्चालनको सम्भावना बढिरहेको बताए ।

गलेश्वरबाट सुरु भई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालन गरिएको उनले जानकारी दिए। गलेश्वरबाट बेनीको खुलामञ्चसम्म करिब ३ किलोमिटरको जलयात्राका लागि रु १ हजार २०० शुल्क तोकिएको छ । यसमा यात्रुहरूलाई खाजाको समेत बन्दोबस्त मिलाइएको छ ।

अहिले तत्कालका लागि दुईवटा आठ–आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगाबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २८ गतेदेखि सञ्चालन हुने सातौँ म्याग्दी महोत्सवमा जलयात्रालाई समेत आकर्षणका रूपमा प्रचार–प्रसार गरिएको छ ।रासस

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Previous

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

एकैपटक ४ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ? Read Next

एकैपटक ४ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?