काठमाडौं । एकैपटक ४ कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले ३ हाइड्रोपावर कम्पनी र एक लघुवित्त गरी ४ कम्पनीलाई लाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डबाट मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी र बीपीडब्ल्यू लघुवित्तले आइपीओ जारी गर्न अनुमति पाएका हुन् ।
४ वटै कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँदरले आइपीओ निष्काशन गर्न अनुमति पाएका हुन् । अनुमति पाएका तीन हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि आइपीओ जारी गर्नेछन् ।
कुन कम्पनीको कति कित्ता ?
मकर जितुमाया सुरी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
त्यसैगरी, सानिमा मिडल तमोर हाइड्रोपावरले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ ह्जार २५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
त्यसैगरी, बीपीडब्ल्यू लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ९७ लाख रुपैयाँ बरारबको ९७ हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । लघुवित्तको सेयर बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट रहेको छ ।