काठमाडौं । आयात नरोकिँदा जुत्ता, चप्पल उद्योग संचालन क्षमताको एकतिहाई क्षमतामा मात्र संचालन भइरहेका छन् । बजारको झन्डै ४० प्रतिशत हिस्सा विदेशी जुत्ताले ओगटेपछि माग नहुँदा जुक्ता उद्योगहरु न्यून क्षमतामा मात्रै संचालन भएका हुन् ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले हाल उद्योगहरु ३५ प्रतिशत क्षमतामा मात्र संचालन भइरहेको बताए । अनियन्त्रित सस्तो जुत्ताको आयात, न्यून बिजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योग मारमा परेको उनले बताए ।
‘नेपाली उद्योगले वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता राख्दछन् । तर, माग नहुँदा हाल उद्योगहरुले आफ्नो क्षमताको ३५ प्रतिशत मात्र उत्पादन गरेका छन्,’ उनले चाणक्य पोष्टसँग भने ।
दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातका कारण क्षमता भन्दा कम उत्पादन गर्न उद्योगीहरू बाध्य भएको उनको भनाइ छ । आत्मनिभरर्तातर्फ अगाडि बढिरहेको नेपाली जुत्ता व्यवसायले देशभरको ६० प्रतिशत माग धानिरहेको छ । बाँकी माग अझै पनि आयात निर्भर रहेको छ ।
देशभर ९ करोड जोर जुत्ताको माग रहेको छ । सो मध्ये ६० प्रतिशत मात्र मात्र नेपाली उद्योगले धान्दै आएको छ । उनका अनुसार गत आर्थिक वर्षमा मात्र नेपाली उद्योगले साढे ५ करोड ६५ लाख जोर उत्पादन गरी बजारमा पठाएका थिए । उनले ३६५ दिन २४ घण्टा उद्योग सञ्चालन गर्न पाए १६ करोड जोर जुत्ता उत्पादन गर्न सक्ने क्षमता रहेको दाबी गरे ।
घिमिरेले नेपालीहरूलाई प्रतिव्यक्ति वार्षिक ३ जोर जुत्ता चप्पल प्रयोग गर्ने गरेको बताए । ‘हामीले मागको ६० प्रतिशत धानेका छौँ, २४ घण्टा उत्पादन गरे १६ करोड जोर जुत्ता उत्पादन गर्न सक्ने क्षमता राख्छौँ,’ उनले भने ।
६ महिनामा ४ अर्बको आयात
चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ३ करोड रुपैयाँ बराबरको १ करोड ६९ लाख जोर जुत्ताचप्पल तथा कच्चा पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ९५ करोड रुपैयाँ लगानीको २ करोड १६ लाख २४ हजार जोर जुत्ताचप्पल तथा कच्चा पदार्थ आयात भएको थियो । गत आर्थिक वर्षमा कुल ८ अर्ब ६८ करोड रुपैयाँ लगानीमा ४ करोड ६६ हजार ८ हजार ८४० जोर जुत्ताचप्पल तथा कच्चा पदार्थ आयात भएको थियो ।
नेपालमा जुत्ता बनाउने ४० देखि ५० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग हुने गरेको छ । बाँकी सबै कच्चा पदार्थ आयातमै निर्भर रहेको छ । अध्यक्ष घिमिरेले सस्ता जुत्ताचप्पल आयात भएका कारण नेपाली जुत्ताचप्पलले बजार पाउन नसकेको बताए ।
नेपालमा लघु उद्योग, साना, मझौला र ठूला गरी देशभर १ हजार ५०० हाराहारीमा जुत्ता उद्योग रहेका छन् । जसमध्ये ठूला तथा मझ्यौला २२९, साना तथा परम्परागत शिल्पीहरूमा आधारित १०७२ फेल्ट तथा हस्तकलामा अधारित २०० रहेका छन् ।
वार्षिक साढे ५ करोड जोर उत्पादन
अध्यक्ष घिमिरेले २०७४ मा गरिएको अध्ययन अनुसार उत्पादनको अवस्था ४ करोड ३९ लाख जोर रहेकोमा हाल उत्पादन बढेर ५ करोड ६५ लाख जोर पुगेको बताए । हाल यस क्षेत्रका उद्योगहरूमा करिब ५५ हजार श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ । जसमध्ये एकतिहाइ महिला प्रत्यक्ष रुपमा कार्यरत रहेका छन् ।
नेपालमा जुत्ता चप्पल उत्पादनमा ४० देखि ५० प्रतिशतसम्म नेपालकै कच्चा पर्दाथ प्रयोग हुने उनले बताए । उनले भने, ‘हामीले आयोजना गर्न लागेको प्रर्दशानीले जुत्ता, चप्पलको लागि चाहिने कच्चा पर्दाथमा आत्मनिर्भर बनाएर ५० देखि ८० प्रतिशतसम्म पुर्याउने लक्ष्य रहेको छ ।’
धेरै जसो ठूला र मझ्यौला उद्योगहरू काठमाडौं, विराटनगर, वीरगंज, बुटवल र भैरहवामा रहेका छन् । जुत्ता उद्योगमा ३० अर्ब भन्दा माथि लगानी रहेको छ भने ४ अर्ब बढी बैंक कर्जा रहेको घिमिरेले बताए ।