काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १७ अंकले बढेको नेप्से आज पनि उत्ति अंकले बढेको हो ।
सूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८ करोडले घटेर ३ अर्बभन्दा कममा सीमित भएको छ ।
सोमबार नेप्से १७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ । यसदिन २५३ कम्पनीको २ अर्ब ९६ करोड रुपैयाँ बढीको ८२ लाख ७१ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूह सबैभन्दा धेरै ३.०६ प्रतिशतले बढेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी साढे १६ करोड र एनआइसी एशिया ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । धौलागिरी र श्रृजनशील लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स र खप्तड लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, प्रभु इन्स्योरेन्स ९, युनाइटेड इदी मर्दी र दोर्दी हाइड्रोपावरको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ ।