अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित

एजेन्सी । अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लूए)ले सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित गरेको जनाएको छ ।

‘अरब क्षेत्रमा आर्थिक र सामाजिक विकासको सर्वेक्षण,’ नाम दिइएको उक्त प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय गरिबीको रेखामा मापन गरिएको गरिबीले अरब मुलुकका १३ करोड मानिसलाई असर गरेको छ ।’ सर्वेक्षणले आगामी दुई वर्षमा गरिबीको स्तर अझ बढ्ने र सन् २०२४ सम्ममा ३६ प्रतिशत जनसङ्ख्यामा पुग्ने अपेक्षा गरेको छ ।

यसबाहेक, अरब क्षेत्रमा सन् २०२२ मा विश्वको सबैभन्दा उच्च बेरोजगारी दर १२ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । कोभिड–१९ पछिको आर्थिक पुनरूत्थान प्रयासका कारण सन् २०२३ मा ११.७ प्रतिशतमा झरेको छ ।

सन् २०२३ मा यस क्षेत्रको आर्थिक वृद्धिदर ४.५ प्रतिशत र सन् २०२४ मा ३.४ प्रतिशत रहने अनुमान गरिएको छ । सर्वेक्षणका प्रमुख लेखक अहमद मौम्मीले जीसीसी र अन्य तेल निर्यातक देशहरूले उच्च ऊर्जा मूल्यबाट लाभ उठाउन जारी राख्ने बताए ।

तेल आयात गर्ने देशहरूले बढ्दो ऊर्जा लागत, खाद्य आपूर्तिको कमी र पर्यटन तथा अन्तर्राष्ट्रिय सहायता प्रवाह दुवैमा गिरावटसहित धेरै सामाजिक आर्थिक चुनौतीहरूको सामना गर्नेछन् ।

मौम्मीले तेल निर्यात गर्ने अरब देशहरूले समावेशी वृद्धि र दीगो विकास सिर्जना गर्ने परियोजनाहरूमा लगानी गरेर ऊर्जा क्षेत्रबाट टाढा आफ्नो अर्थव्यवस्थालाई विविधीकरण गर्नुपर्ने उल्लेख गरेका छन् ।

भक्तपुर दरबार स्कवायरमा विदेशीका लागि प्रवेश शुल्क समायोजन Read Previous

भक्तपुर दरबार स्कवायरमा विदेशीका लागि प्रवेश शुल्क समायोजन

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी