काठमाडौं । पछिल्लो समय ऊर्जाका लागि ब्रिकेट (कोइला जस्तै बाल्न मिल्ने वस्तु )को प्रयोग बढ्दो छ । परम्परगत रुपमा प्रयोग गरिने दाउरा, गुइँठा लगायतको विकल्पमा यसको प्रयोग हुन्छ । सामान्यतया खाना पकाउनदेखि उद्योग, कलकारखानामा समेत ब्रिकेटको प्रयोग हुन्छ । अहिले जाडोयाममा यसको माग उच्च रहेको छ ।
बजारमा कृषि जन्य अखाद्य वस्तुहरू, फाल्तु वन पैदावारहरू, खेतिपाती⁄औद्योगिक फोहर, काष्ठ उद्योगबाट निस्कने धुलो, टुक्रा काठबाट बनाएको ब्रिकेट किन्न पाइन्छ । तर, अब बजारमा पैसाबाट बनेको ब्रिकेट पनि आउने भएको छ । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो ।
नेपाल राष्ट्र बैंकले पुराना तथा झुत्रा नोटबाट ब्रिकेट बनाएर बिक्रीमा ल्याएको छ । राष्ट्र बैंकले विगतमा पुराना र झुत्रा नोट जलाएर नष्ट गर्दै आएकोमा अहिले भने खेर जाने नोटबाटै आम्दानी गर्ने भएको छ ।
शनिबार राष्ट्र बैंकले प्रचलनका लागि अयोग्य नोटबाट बनाएको ब्रिकेट बिक्री गर्न सूचना मार्फत खरिद गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले पुराना र झुत्रा नोटबाट बनाइएको २ लाख ७५ हजार केजी बराबरको ब्रिकेट ब्रिकी गर्ने भएको हो ।
ब्रिकेट किन्न खरिद इच्छुक खरिदकर्ताले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्य वा कुनै पनि प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्नेछन् । खरिदकर्ताले २ हजार रुपैयाँ तिरेर शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ब्रिकेट खरिदका लागि परेका प्रस्तावमा मूल्य प्रतिस्पर्धाको आधारमा विक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
विगतमा अर्बौं रुपैयाँ लगाएर छापेका नोटहरू काम नलाग्ने भएपछि जलाएर नष्ट गरिदै आएको थियो । यसपटक भने नयाँ प्रविधिको प्रयोग गरेर ब्रिकेट बनाएको छ ।
राष्ट्र बैंकले २०७८ भदौदेखि चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर ब्रिकेट बनाउन थालेको थियो । राष्ट्र बैंकले हाल केन्द्रीय कार्यालयका साथै सबै प्रादेशि कार्यालयमा झुत्रा नोटबाट ब्रिकेट बनाउँदै आएको छ ।
न्यूनतम् मूल्य प्रतिकेजी ६ रुपैयाँ !
टेन्डरबाट विक्री गरिने भएकाले ब्रिकेटको अन्तिम मूल्य कति हुन्छ भन्ने अहिले टुंगो छैन । तर, राष्ट्र बैंकले पैसाबाट बनेको ब्रिकेट प्रतिकेजी न्यूनतम ६ रुपैयाँमा निर्धारण गरेको छ । बोलपत्र पेश गर्दा खरिदकर्ताले प्रतिकेजी ६ रुपैयाँभन्दा कममा बोलकबोल गर्न पाइने छैन ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपाल राष्ट्र बैंकले प्रचलनका लागि अयोग्य नोटबाट कति रुपैयाँ प्राप्त गर्छ भन्ने खरिद मूल्यमा भर पर्ने बताउँछन् । ‘ब्रिकेटबाट कति रुपैयाँ प्राप्त हुन्छ भन्ने खरिद गर्नेले कतिमा गर्छन् भन्नेमा भर पर्छ । राष्ट्र बैंकले न्यूनतम् प्रतिकेजी ६ रुपैयाँ तोकेको छ,’ उनले भने, ‘अहिलेसम्म कोटेसनबाट बिक्री गरिएको छैन । यो पहिलो प्रयास हो । जसले धेरै मूल्यमा बोलकबोल गर्छ सोहीले प्राप्त गर्छ ।’
उक्त परिणामको ब्र्रिकट ब्रिकी वापत राष्ट्र बैंकको न्यूनतम् १५ लाख रुपैयाँ बढी आम्दानी हुने उनको भनाइ छ । हाल बजारमा पाइने अन्य ब्रिकेटको औसत मूल्य प्रतिकेजी १०० रुपैयाँ हाराहारीमा रहेको छ ।
पछिल्लो समय भने प्रविधिको विकासले नोट कारोबारको प्रचलन घटाउँदै लगेको छ । यसको प्रभाव राष्ट्र बैंकले छाप्ने नोट र बजारमा पठाउने पैसामा देखिएको छ । राष्ट्र बैंकले डिजिटल मुद्रा प्रयोगमा ल्याउन समेत विभिन्न अध्ययन गरिरहेको छ ।
यसरी बनाइन्छ पैसाको ब्रिकेट
राष्ट्र बैंकले कारोबारका लागि अयोग्य भएका नोटलाई व्यवस्थित गर्ने उद्देश्यले मेसिन सञ्चालनमा ल्याएको छ । नेदरल्याण्डबाट खरिद गरेर ल्याएको बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) मेसिनमा हालेर नोटबाट ब्रिकेट बन्छ । उक्त मेसिन मार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गरिने नेपालले बताए ।
उनका अनुसार मेसिनको पहिलो भागले नोट टुक्र्याउने र दोस्रो भागले ब्रिकेट तयार बनाउँछ । ब्रिकेट बनाउन राष्ट्र बैंकको थप लागत भने नलाग्ने उनले बताए । राष्ट्र बैंकले प्रतिवर्ष ४० देखि ५० अर्ब रुपैयाँ बराबरका झुत्रा नोट नष्ट गर्दै आएको छ ।
नेपालका अनुसार प्रतिबन्डलको एक केजी ब्रिकेट बन्छ । ‘एक बन्डलका ठूलोदर नोटहरूबाट १ केजी ब्रिकेट बन्छ । साना नोटहरूबाट केजीमा अलि कम हुन्छ । सरदरमा एक बन्डलले एक किलो ब्रिकेट बन्छ,’ उनी भन्छन् ।
ब्रिकेट कोइला प्रयोग गरिने उद्योग, घरायसी प्रयोजन, कारखाना, इँटाभट्टा, कागज कारखाना लगायतको प्रयोजनमा प्रयोग गर्न उपयुक्त मानिन्छ । राष्ट्र बैंकले तीन वर्षमा एक पटक नयाँ नोट छाप्ने गरेको छ भने हरेक वर्ष बजारमा पठाउँछ ।
नयाँ नोट छपाइ गर्न अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । तर, कागजी नोटहरू केही वर्षमै काम नलाग्ने हुँदा राष्ट्र बैंकले नष्ट गर्दै आएको थियो । साना दरका नोटहरू ३ वर्ष, ५०० र १ हजार दरका नोटहरू ४ वर्षसम्म टिक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
५ रुपैयाँसम्म खर्च हुन्छ प्रतिनोट छपाइ
मुद्राको छपाइका लागि अबौं रुपैयाँ बढी बाहिरिने गरेको छ । हाल प्रतिनोट छपाइ लागत १.४० रुपैयाँदेखि ४.६८ रुपैयाँसम्म पर्ने गरेको छ । नोट छपाइको बिडिङमा हुने प्रतिस्पर्धा, नोटमा हुने सेक्युरिटी फिचर लगायत कारणले छपाइ खर्चको सीमा निर्धारण हुने गरेको छ ।
राष्ट्र बैंकका अनुसार १ हजार दरका नोट छाप्न प्रतिनोट ३.३७ रुपैयाँ खर्च हुने गरेको छ । ५०० दरको नोट छाप्न ४.६८ रुपैयाँ, १०० रुपैयाँको नोट छाप्न २.९९ रुपैयाँ, ५० रुपैयाँको छाप्न २.६७ रुपैयाँ, २० रुपैयाँको १.७३ रुपैयाँ, १० रुपैयाँको नोट छाप्न १.४० रुपैयाँ लाग्ने गरेको छ ।