काठमाडौं । अधिकांश लघुवित्त वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गर्न ढिलाइ गरेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष बितेको ६ महिनाभित्र सो वर्षको साधरण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि लघुवित्त कम्पनीहरूले भने लाभांश समेत घोषणा गर्न सकेका छैनन् ।
नेप्सेमा सूचीकृत ५८ लघुवित्तमध्ये हालसम्म जम्मा १३ वटा लघुवित्तले मात्रै लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका लघुवित्तमध्ये ८ वटाले मात्रै पुस भित्रै साधरण सभा बोलाएका छन् ।
लघुवित्त कम्पनीहरूको लाभांश घोषणामा ढिलाइ हुनुमा स्वयम् लघुवित्तहरू नै कारण बनेका छन् । गत वर्ष लघुवित्तहरूले नियम विपरी बढी सर्भिस चार्ज असुलेको भन्दै नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत नगर्दा लाभांश घोषणामा ढिलाइ भएको हो ।
लघुवित्त संस्थाहरूले बढी लिएको सेवा शुल्क बापतको रकम फिर्ता नगरेसम्म वित्तीय विवरण स्वीकृत नगर्ने राष्ट्र बैंकको अडान छ । जसकारण लघुवित्त कम्पनीहरूको लाभांश घोषणा र साधरण सभा आह्वानमा ढिलाइ भएको हो ।
यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पनि गत वर्ष बढी असुलेको प्रिमियमबापतको रकम फिर्ता गर्न लगाएको थियो । वाणिज्य बैंकहरूले ४ अर्ब ६७ करोड रुपैयाँ ब्याज फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि मात्रै वित्तीय विवरण स्वीकृत गरी लाभांश घोषणा गर्न अनुमति दिएको थियो ।
अब लघुवित्तहरूले पनि वाणिज्य बैंकहरूको जस्तै बढी असुलेको रमक फिर्ता गरे मात्रै वित्तीय विवरण स्वीकृत गर्ने राष्ट्र बैंकको भनाइ छ । यता, लघुवित्तहरू भने राष्ट्र बैंकले समयमै वित्तीय विवरण स्वीकृत नगर्दा लाभांश घोषणा र साधारण सभा गर्न नसकिएको बताउँछन् ।
नेपाल लघुवित्त वित्तीय संस्था बैंकर्स संघका सचिव तथा नेशनल लघुवित्तका सीईओ रामबहादुर यादवले वित्तीय विवरणमा राष्ट्र बैंकले स्वीकृती नदिँदा साधारण सभामा ढिलाइ भएको बताउँछन् ।
‘राष्ट्र बैंकबाट स्वीकृति लिइसकेपछि संस्था साधारण सभामा जाने हो । अहिले सर्भिस चार्जको विषयलाई लिएर नियामकबाट स्वीकृति प्राप्त भएको छैन,’ उनले भने ।
८ वटाले मात्रै बोलाए साधरण सभा
हालसम्म १३ वटा लघुवित्तले मात्र गत वर्षको मुनाफाबाट लाभांश घोषण गरेका छन् । तीमध्ये ८ वटाले साधरण सभा समेत डाकेका छन् । अन्य लघुवित्तले भने पुसभित्रै साधरण सभा गर्न नसक्ने भएका छन् ।
हालसम्म सीवाइसी नेपाल, साधना लघुवित्त, मिर्मिरे, मेरो माइक्रोफाइनान्स, फरवार्ड माइक्र्रोफाइनान्स, गुराँस लघुवित्त, आरएसडीसी र फस्र्ट माइक्रोफाइनान्सले लाभांश घोषण गरी साधारणसभाको मिति तोकेका छन् ।
यस्तै, आँधीखोला, नेरुडे, आरएमडीसी, साना किसान विकास र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरे पनि साधरण सभाको मिति तोकेका छैनन् । यी लघुवित्तहरूले सभा प्रयोजनका लागि बुकक्लोज समेत तोकेका छैनन् ।
लाभांश घोषणा गर्न बाँकी ४५ लघुवित्तहरूले भने पुसभित्रै साधरणसभा सम्पन्न गर्न नसक्ने देखिएको छ । कानुन अनुसार वार्षिक साधारसभा बोलाउनु २१ दिनअघि नै जानकारी गराउनु पर्ने भए पनि पुस महिना सकिन १३ दिन मात्र बाँकी छ ।
लाभांश घोषणा गर्न बाँकीले जरिवाना तिर्नुपर्ने
हालसम्म लाभांश घोषण गर्न नसकेका लघुवित्तहरूले अब जरिवाना तिर्नुपर्ने भएको छ । पब्लिक कम्पनीमा गइसकेका कम्पनीहरूले समयमै साधारण सभा नगरेमा कम्पनी रजिष्टारको कार्यालयले जरीवाना गराउँछ । सोही अवधभित्र नगर्ने संस्थाहरू जरीवानामा पर्ने भएका हुन ।
लाभांश घोषणा गरेका कम्पनीहरूले पनि सेयरधनीलाई वितरण नगर्दा समयमै प्रतिफल प्राप्त गर्नबाट वञ्चित भएका छन् भने अर्कोतर्फ कम्पनीको वित्तीय सुशासनमा समेत प्रश्न उठ्छ । कम्पनी ऐन संस्थाहरूलाई साधारण सभा ढिलाइको समय अनुसार १ हजारदेखि २० हजारसम्म जरीवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।