चालु पूँजी कर्जा ५ वर्षमा दोब्बरले बढ्यो, दुरुपयोगको आशंका

काठमाडौं । पछिल्लो पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाबाट उद्योगी, व्यवसायीले लिने चालु पूँजी कर्जा दोब्बरले बढेको छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कर्जाको माग बढ्दा बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी बढाएका हुन ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म ४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म पुग्दा १११ प्रतिशतले बढेर १० खर्ब ५० अर्ब पुगेको हो ।

हालसम्म वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जाको २२ प्रतिशत हिस्सा चालु पूँजीको रहेको तथ्यांकले देखाउँछ । चालु आवको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४७ खर्ब ६७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

लगानीको छोटो समयमै प्रतिफल प्राप्त गर्न सकिने तथा कर्जाको माग बढी हुने भएकाले बैंकहरूको ऋण लगानीका लागि यो क्षेत्र रोजाइमा पर्ने गरेको बैंकरहरू बताउँछन् । चालु पूँजी कर्जा प्रवाह तथा माग वृद्धिले कर्जा दुरुपयोग भएको आशंका गरिए पनि राष्ट्र बैंकले नियमन गर्न भने सकेको छैन ।

पूर्वबैंकर परशुराम क्षेत्री चालु पूँजी शीर्षकमा प्रवाह गरिएको कर्जा स्वभाविक भए पनि दुरुपयोगको आशंका भने रहेको बताउँछन् । ‘स्वभाविक रूपमा उद्योग तथा व्यापार, व्यवसाय सञ्चालन गर्न व्यवसायीले चालु पूँजी कर्जा लिन्छन्,’ उनले भने, ‘एक प्रकारको उद्देश्यले लिएको ऋण अन्यत्रै हिनामिना भयो कि भन्ने आशंका छ । यसमा बैंकहरू आफैंले पनि अनुगमन गरेर लगानीको जोखिम तथा दुरुपयोगको अवस्था हेर्नुपर्छ ।’विभिन्न उद्योग, व्यवसाय सञ्चालन गर्न चालु सम्पत्ति तथा दायित्वको मूल्यांकन गरेर निश्चित अवधिका लागि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्ने गरेका छन् । व्यवसायीले चालु पूँजी कर्जाको नाममा बैंकबाट ऋण लिएर अन्यत्रै लगानी गरेको आशंका वित्तिय क्षेत्रका जानकारहरूको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जामा नयाँ व्यवस्था लागु गरेसँगै उद्योगी व्यवसाायी त्यसको विरुद्धमा छन् ।

बैंकिङ कसुर तथा सजाय ऐनले बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा स्ुविधा लिइएको हो सोही प्रयोजनमा नभएर अन्यत्रै लगाउनु दुरुपयोग भएको र सो कार्य गर्न नहुने व्यवस्था गरेको छ ।

यस्तो रकम दुरुपयोग गरे फौजदारी कानुन अनुसार कारबाही हुने व्यवस्था छ । तर, वित्तीय संस्थाले कर्जाको अनुगमन नगर्दा र ऋणीले लिएको रकम नियमित तिर्दा खराब कर्जामा परिणत नभएसम्म दुरुपयोग भएको थाहा नहुने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा लगानीका केही क्षेत्रमा सीमा तोके पनि कुन ठाउँमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा बैंकहरू स्वतन्त्र छन् । जसको कारण नियामकले हेर्दा ऋणीले नियमित तिरिरहेको देखिने र सोही रकम पछि खराब कर्जामा परिणत भएपछि मात्र थाहा पाउने उनीहरूको भनाइ छ ।

राष्ट्र बैंकले चालु पूँजी कर्जा दुरुपयोगको आशंका र वित्तीय प्रणालीमा आउने जोखिमलाई कम गर्न गत कात्तिकदेखि चालु पूँजी कर्जा मार्गदर्शन लागू गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरूले २ करोड सम्मको लागि अनुमानित कारोबारको २० प्रतिशत र विशेष अवस्थामा ४० प्रतिशत तथा २ करोड माथि २५ प्रतिशतसम्म कर्जा दिन पाउने सीमा निर्धारण गरेको छ ।

लेखापरीक्षण भएको वित्तीय विवरण, चालु सम्पत्ति तथा दायित्व सम्बन्धि यथार्थ विवरण,कर्जा सदुपयोगिता र आवश्यकतोको विश्लेषण गरेर मात्र संस्थाले विकरण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन गरेसँगै उद्योगी, व्यवसायी आन्दोलनमा उत्रेका छन् । उनीहरू उक्त मार्गदर्शन स्थगन गर्न माग गर्दै अर्थमन्त्री, गभर्नर लगायत सरोकारवालालाई भेटेर लबिङ गरिरहेका छन् ।

 

 

फरवार्डसहित ३ लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Previous

फरवार्डसहित ३ लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग Read Next

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग