काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रिया अन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड विस्तारका लागि ठेक्का लागेको छ ।
सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले गत कात्तिकमा उक्त सडक विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । जसमा ५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले उक्त सडक विस्तारको ठेक्का पाएको हो ।
यस कम्पनीले ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँमा ठेक्का पाएको हो । यो सडक विस्तारको ठेक्कामा प्राविधिक मूल्यांकनबाट ३ कम्पनी छनोट भएका थिए । सोमध्ये सबैभन्दा कम रकम कबोल्दै आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले ठेक्का पाएको हो ।
सूर्यविनायक धुलिखेल सडक अन्तर्गत नै पहिलोखण्ड साँगा धुलिखेल सडक विस्तारका लागि यसअघि नै ठेक्का लागि सकेको छ । सो खण्ड विस्तारको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको छ । उसले ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा ठेक्का पाएको हो ।
जापानी सहयोग नियोग जाइकाले हात झिनेपछि नेपाल सरकारले आन्तरिक स्रोतबाटै यस सडक अगाडि बढाउने निर्णय गरेको थियो । सो अनुसार गत भदौमा आयोजनाको डीपीआर तयार सुरु गरिएको थियो ।
डीपीआर अनुसार गाडी चल्ने मुख्य चार लेनको सडक बनाइने छ । दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने छ भने बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख छ ।
डीपीआर अनुसार साँगामा डेढदेखि दुई किलोमिटर नयाँ सडक निर्माण हुनेछ । धुलिखेलबाट आउने अहिलेकै सडकलाई एकतर्फी बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिने डीपीआरमा उल्लेख छ ।
यस सडक विस्तारको ठेक्का पाउने कम्पनीले ३ वर्षभित्र निर्माण पूरा गर्नुपर्ने छ भने निर्माण सम्पन्न भएको १ वर्षसम्म मर्मतसम्भार गर्नुपर्नेछ ।
सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौं आउजाउ गर्दछन् ।
उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ ।