काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण भएसँगै उक्त पाइपाइनबाट इन्धन आयात गर्दा १० करोड रुपैयाँ बचत भएको छ । उक्त पाइपलाइनबाट डिजल आयात गर्दा एक महिनामा ढुवानी भाडा अन्तर्गतको १० करोड रुपैयाँ बचत भएको नेपाल आयल निगमले जानकारी गराएको हो ।
निगमका अनुसार पछिल्लो एक महिनाको अवधिमा पाइपलाइन मार्फत करिब ५ करोड लिटर डिजेल आयात भएको छ । सोही परिमाणको डिनल आयात गर्दा ढुवानी भाडाको १० करोड रुपैयाँ बराबर बचत भएको निगमको भनाई छ ।
नेपाल र भारत सरकारको संयुक्त लगानीमा निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन गत भदौ २४ गतेदेखि सञ्चालनमा आएको हो । उक्त पाइपलाइनबाट एक महिनाको अवधिमा ४ करोड ६० लाख ७७ हजार लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
पहिलो चरण अन्र्तगत पाइपलाइन मार्फत डिजेल आयातलाई निगमले अघि बढाएको थियो । हाल पाइपलाइन मार्फत प्रतिघण्टा १ सय ७० लिटर डिजेल आयात भइरहेको अमलेखगञ्ज कार्यलयका प्रमुख प्रदीप कुमार यादवले बताएका छन् । पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनाको अवधिमा १० करोड रुपैयाँ बचत भएको हो उनी थप बताउँछन् । साथै, पछिल्लो एक महिनायता रक्सौलदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाट डिजेल भित्रिएको उनले स्पष्ट पारे ।
निगमका अनुसार, पाइपलाइबाट डिजेल आयातको सुरुको क्रममा दैनिक १२ देखि १५ घन्टा सञ्चालन भएको पाइपलाइन अहिले २४ घण्टा नै सञ्चालनमा आएको छ । त्यस्तै दैनिक २४ घण्टा पाइपलाइनबाट डिजेल आउन थालेपछि पर्याप्त मात्रामा भण्डारणको समेत व्यवस्था भइरहेको निगमले बताएको छ । पाइपलाइनबाट नेपालमा डिजेल भित्रिन थालेपछि हाल बजारमा आपूर्ति व्यवस्थामा पनि सहजता भएको निगमको ठम्याई रहेको छ ।
हाल पाइपलाइनबाट आयात हुने डिजेलले देशभरको ८० प्रतिशतसम्म माग धानिरहेको निगमले खुलाएको छ । पछिल्लो समय मुलुकमा डिजेलको खपत दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । जीवनस्तरमा आएको परिवर्तनसंगै सवारी साधनको बढ्दो प्रयोग र विकास निर्माणका काम तीव्ररूपमा अगाडि बढेकाले पनि डिजेलको खपत वर्षेनि बढ्दै गएको निगमको ठम्याई छ ।
पाइपलाइनबाट आयात भएको डिजेल भैरहवा, पोखरा, थानकोट, धादिङ, विराटनगरलगायत डिपोमा मागअनुसार ट्याङ्करमार्फत ढुवानी गरेर पुर्याएको प्रमुख यादव बताउँछन् । त्यस्तै, पाइपलाइनबाट डिजेल आउन थालेपछि इण्डियन आयल कर्पोरेशनको बरौनी, बैतालपुर, मुगलसराई, गोण्डालगायतका रिफाइनरीबाट डिजेल आयात गर्न बन्द गरिएको समेत उनले जानकरी गराए ।
पाइपलाइनबाट आयात भएको डिजेल पूर्ण रुपमा गुणस्तर रहेको निगमको दाबी छ । निगमस्रोतका अनुसार, पाइपलाइनबाट आएको डिजेल सुरक्षितका साथै पूर्ण परिमाण र गुणस्तरमा आइरहेकोे छ । पाइपलाइनबाट डिजेल आउन थालेपछि त्यस रुटमा तेल बोक्ने ट्याङकर अहिले अन्य स्थानीय रुटमा सञ्चालन आएको छ ।
यसअघि रक्सौलदेखि अमलेखगञ्जसम्म १ सय ६० ट्याङ्कर सञ्चालनमा आएका थिए । पाइपलाइनबाट डिजेल आयात हुन थालेपछि वार्षिक १ अर्ब रुपैयाँ बराबरको ढुवानी खर्च बचत हुने भएको निगमको दाबी छ । पाइपलाइनबाट तेल ढुवानी गर्दा ढुवानी रकम बचतका साथै वातावरण प्रदूषण समेत कम हुने र इन्धनको आपूर्तिमा सहज हुने निगमको भनाई छ ।
हाल पाइपलाइनबाट आयात हुने डिजेलले देशभरको ८० प्रतिशतसम्म माग धानिरहेको निगमले खुलाएको छ । पछिल्लो समय मुलुकमा डिजेलको खपत दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । जीवनस्तरमा आएको परिवर्तनसंगै सवारी साधनको बढ्दो प्रयोग र विकास निर्माणका काम तीव्ररूपमा अगाडि बढेकाले पनि डिजेलको खपत वर्षेनि बढ्दै गएको निगमको ठम्याई छ ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पाइपलाइन कुल ६९.२ किलोमिटर लम्बाई छ । भारतको २ अर्ब र निगमको ७५ करोड रुपैयाँ (भारु) लागतमा उक्त पाइपलाइन निर्माण भएको हो ।