काठमाडौं । नेपालको भारतीय मुद्रासँग विनिमयदर स्थिर छ । तीन दशकदेखि कायम गरिएको स्थिर विनिमयदर परिवर्तन गर्नुपर्ने आवाजहरू बेलाबखत उठ्ने गरेका छन् । आर्थिक स्थायित्व, अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रोत्साहन गर्ने उद्देश्यले भारतसँग स्थिर विनिमयदर निर्धारण गरिएको थियो ।
२०४९ सालमा निर्धारण गरिएको १ रुपैयाँ भारु बराबर १.६ नेरु दर अहिले प्रचलनमा छ । माग वृद्धिले डलर महंगो हुँदा भारतीय रुपैयाँ अवमूल्यन भएर त्यसको प्रभाव नेपाली मुद्रामा समेत पर्ने गरेको छ । सो क्रम पछिल्लो समय बढ्दै गएको छ ।
भारतसँगको स्थिर विनिमयदर नभए नेपाली मुद्रा डलरसँगको सटहीमा हालकोभन्दा कमजोर हुँदै जाने आर्थिक मार्मिलाका जानकारहरूले विश्लेषण गर्ने गरेका छन् ।
विश्वका अन्य अर्थतन्त्रसँग प्रतिस्प्रर्धा गर्न, उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । उत्पादन बढाएर र अर्थतन्त्रको संरचना परिवर्तन गर्न भारतसँगको स्थिर विनिमयदर पुनर्विचार गर्नुपर्ने बेला भएको अर्थ क्षेत्रका जानकारहरूको तर्क छ ।
नेपालको अर्थतन्त्र कमजोर र आयातमुखी भएकाले भारतसँगको स्थिर विनिमयदरले स्थायित्व कायम गरेको छ । जसको कारण अहिलेकै अवस्थामा नेपालका लागि हितकारी भएको विज्ञहरू बताउँछन् ।
उत्पादन वृद्धि र व्यापार घाटा घटाएर निर्यात गर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगे मात्र विनिमयदर परिवर्तनको बाटोतर्फ लाग्नुपर्ने अर्थशास्त्रीको मत छ । स्थिर विनिमयदरले भारतमा हुने मूल्य वृद्धिको प्रभाव नेपाली भान्सामै पर्ने गरेको छ ।
‘स्थिर विनिमयदरले अर्थतन्त्रमा स्थायित्व ल्याउन भूमिका खेलेको छ’
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा अहिलेको अवस्थामा स्थिर विनिमयदरले अर्थतन्त्रमा स्थायित्व ल्याउन भूमिका खेलेको बताउँछन् ।
‘भारतसँको स्थिर विनिमयदरले अहिलेको अवस्थामा राम्रो काम गरेको छ । आर्थिक स्थायत्व कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बजारलाई छोडेको भए ब्याजदर जस्तै तलमाथि जान्थ्यो,’ उनले भने, ‘ब्याजदरले जुन दुःख उद्योगी व्यवसायीलाई दिएको छ, त्यस्तै समस्या भोग्नुपर्ने अवस्था आउँथ्यो ।’
बजारलाई छोडेको भए विनिमय संचितिमा दबाब नहुँदा राष्ट्र बैंकलाई हाइसन्चो हुने उनको तर्क छ । तर, स्थिर विनिमयदरले उद्योग, व्यवसाय र काम गरेर खानेलाई सहज बनाएको उनले बताए ।
राष्ट्रिय योजना आयोगले २०७७ मा गरेको विदेशी विनिमयदर निर्धारण प्रणाली अध्ययन प्रतिवेदनमा पूँजी खाता परिवर्त्य बनाउँदै लगिने हो भने विद्यमान कायम विनिमयदर प्रणालीको विकल्प खोज्नुपर्ने उल्लेख छ ।
पन्ध्रौं योजनामा उल्लेख भए अनुसार विनिमयदर निर्धारण प्रणालीलाई पुनरावलोकन गर्ने हो भने तीन चरणमा चार विकल्पमा काम गर्नुपर्ने सुझाव दिएको थियो । नेपालको पूँजी खाता र वित्तीय क्षेत्रलाई विश्व वित्तीय क्षेत्रसँग एकाकार (पूँजी खाता क्रमशः परिवर्त्य गर्न आवश्यक पर्ने ऐन कानुनहरूको संशोधन तथा निर्माण कार्य अगाडी बढाउनु पर्ने, पूँजी खातालाई क्रमशः खुकुलो बनाउने, विनिमय दर प्रणालीको सङ्क्रमणकालीन विकल्पको रुपमा मुद्रा डालो, क्रवलिंग पेग र विनिमय दर करिडोर जस्ता विकल्पहरूमध्ये एउटा चयन, परिवर्तनशील विनिमय दर प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।
अर्थशास्त्री गोविन्द नेपाल नेपालको अर्थतन्त्र मजबुत नभइसकेको अवस्थामा स्थिर विनिमयदरले आर्थिक स्थायित्व कायम गरेको बताउँछन् । ‘कहिले ८ प्रतिशतसम्म र कहिले २ प्रतिशतमा आर्थिक वृद्धि रहने हाम्रो अर्थतन्त्रको प्रवृत्ति छ । यस्तो अवस्थामा भारतसँगको स्थिर विनिमयदरले आर्थिक थायित्व कायम गरेको छ,’ उनले भने, ‘विनिमयदरमा आउने परिवर्तनले नेपालको मुद्रा कमजोर हुने र आयातको पैसा बढी तिर्नुपर्ने हुँदा व्यापार घाटा झनै चुलिन्छ ।’
स्थिर विनिमयदरले मूल्य वृद्धिको भारतीय प्रभाव नेपालमा परे पनि परिवर्तनशील पेगले पनि नेपाली मुद्रा कमजोर भए झनै समस्या आउने उनले बताए । ‘मुद्रास्फीतिको भारतीय प्रभाव नेपालमा पर्छ । तर, यस्तो अर्थतन्त्र भएको मुलुकले अहिलेनै राम्रो गर्छौं भन्ने अवस्था छैन,’ उनी भन्छन् ।
रेमिट्यान्सले आयातको ऋण तिरिरहेको देशले विनिमय दरमा खेलेर आर्थिक स्थायित्व कायम गर्न नसक्ने उनले बताए । भारतीय मुद्राभन्दा नेपाली मुद्रा महंगो हुँदा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा जाने वस्तुको मूल्य बढ्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण नरहने नेपाल बताउँछन् ।
‘आयात घटाएर निर्यातका वस्तुहरू बढाउने र अर्थतन्त्रलाई सही दिशामा ल्याएर त्यसतर्फ अध्ययन गरेर परिवर्तन गर्नसक्ने बाटो रहन्छ,’ उनले भने ।विनिमय दर निर्धारण प्रणालीलाई परिमार्जन गर्न नेपालले विभिन्न प्रयासहरू गर्दै आएको छ । २०१७ अघि नेपालमा खुला बजार विनिमय दर प्रणाली थियो ।
२०१७ मा स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको नेपालले २०४० मा मुद्रा डालो (करेन्सी बास्केट) प्रणालीमा जाने नीतिगत लिएको थियो । २०४८ देखि २०४९ सम्म १ वर्षको अवधिमा आंशिक परिवत्र्यताको नीति लिएको थियो । त्यसयता स्थिर पेग निर्धारण गरेर कारोबार गर्दै आएको छ ।
स्थिर विनिमयदरको पेग परिवर्तन गर्नु भनेको उपचार नगरेरै पेनकिलर खानु जस्तै भएको थापा टिप्पणी गर्छन् । थापा भन्छन्, ‘अर्थतन्त्रको उपचार नगरी विनिमयदर चलाउनु भनेको उपचार नगरेरै पेनकिलर खानु जस्तै हो । यसले झन समस्या निम्त्याउँछ ।’