काठमाडौं । सेयर बजारमा चरम निराशा देखिएको छ । अघिल्लो हप्ताको ४ दिनको कारोबारमा २ दिन सामान्य अंकले बढेर अर्को दुई दिन घटेको बजार यो हप्ताको कारोबारको शुरुवाती दिनमा पनि ४.०३ अंकले घटेको छ ।
कम्पनीहरुको कारोबार मूल्य र नेप्से परिसूचकको घटबढ भन्दा पनि निराशाजनक कुरा त झन् कारोबार रकम हुन थालेको छ । करिब १५ खर्ब ५० अर्बको सेयर बजारमा दैनिक २० करोड रुपैंयाँको पनि कारोबार नहुनु ठूलै चिन्ताको विषय मात्र नभएर नेपाल चरम आर्थिक मन्दीमा प्रवेश गर्न लागेको त होइन भन्ने जस्ता अनुमान हुन थालेका छन् ।
दशैंपछि खुलेको सेयर बजारमा हालसम्मकै उच्च कारोबार रकम भनेको २१ करोड रुपैयाँ हो । आज पनि ११ करोड ३३ लाख रुपैंयाँको कारोबार भएको छ ।
आइतबार सबै उपसूचकहरु राताम्मे भएका छन् । बैंकिङ ३.९३, होटल ५.७, विकास बैंक २.६६, जलबिद्युत २.०५, वित्त ०.३४, नन लाइफ १६.७३, उत्पादन १३.३३, अन्य २.७२, लघुवित्त २.५५, लाइफ इन्स्योरेन्छ २३.३७ र म्युचल फण्ड ०.३१ अंकले घटेका हुन् ।
आइतबार सबैभन्दा बढी कारोबार प्रभु बैंकको १ करोड ९ लाख रुपैयाँको भएको छ भने दोस्रोमा एभरेष्ट बैंकको ७३ लाख ५४ हजार र तेस्रोमा नेपाल बैंकको ५४ लाख ५१ हजार रुपैंयाँको करोबार भएको छ ।
आइतबार सबैभन्दा बढी सिनर्जी हाइड्रोपावर, सिटी एक्सप्रेस फाइनान्स र गुँरास लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । उनीहरुले क्रमशः ५.३३, ४.३१ र ३.६८ प्रतिशतले गुमाएका हुन् ।
यसैगरी आइतबार सबैभन्दा बढी कमाउने ३ कम्पनीमा सानिमा माइ हाइड्रो, सगरमाथा इन्स्योरेन्स र एनआइबिएल समृद्धि फण्ड रहेका छन् । यी कम्पनीले क्रमशः ३.२१, २.७१ र २ प्रतिशतले कमाएका हुन् ।
गत आर्थिक बर्षको कमाइबाट कम्पनीहरुले राम्रै लाभांश घोषणा गरिरहेका छन् । अहिलेको अवस्थामा नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुमा लगानी गरे ८ देखि १० प्रतिशत चोखो आम्दानी गर्न सकिने देखिन्छ । कम्पनीहरुको मूल्य न्यून छन् भने लाभांश राम्रै छन् । तर, पनि सेयर ब्रोकरहरुको कार्यालयमा सामान्य लगानीकर्ताहरु आउनै छाडेका छन् ।
‘मैले त सेयर बजारको दैनिक अपडेट समेत लिन छाडिसकेको छु,’ एक लगानीकर्ताले भने । ठूला लगानीकर्ताहरुमा पनि बजारमा पस्ने कुनै जाँगर देखिएको छैन ।
सेयर बजारलाई समग्र अर्थतन्त्रको ऐना मानिन्छ । के अहिलेको चरम वियरिस ट्रेण्डमा रहेको सेयर बजारले नेपाली अर्थतन्त्रको निकट भविष्यको चरम आर्थिक मन्दीको संकेत त गरिरहेको छेन ?