पेट्रोलियम पदार्थ आयातमा उच्च गिरावट, यी ४ कारण घट्यो खपत

काठमाडौं । चालु आर्थिक वर्षमा पेट्रोलियम पद्धार्थको आयातमा भारी गिरावट आएको छ । चालु आवको ५ महिना (साउन–मंसिर)मा गत वर्षको सोही अवधिको तुलनामा इन्धन आयात २६ प्रतिशतले घटेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार कात्तिक मंसिर मसान्तसम्म कुल ७ लाख ८ हजार ३१३ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ लाख ४९ हजार ७७६ किलोलिटर कम हो । गत वर्ष मंसिरसम्म ९ लाख ५८ हजार ८९ किलोलिटर पेट्रोलियम पद्धार्थ आयात भएको थियो ।

यद्यपि, परिमाण घटे पनि इन्धन आयातका लागि बाहिरिने रकम भने बढेको छ । चालु आवको ५ महिनामा साढे ८४ अर्बको इन्धन खरिद गरिएको छ भने गत वर्ष सोही अवधिमा साढे ७३ अर्बको आयात गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्य वृद्धिका कारण इन्धन खरिदका लागि बाहिरिने रकम बढेको हो ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा २८ अर्ब ५९ करोड रुपैयाँ बराबरको २ लाख ७९ हजार लिटर पेट्रोल आयात भएको छ । सो अवधिमा ५५ अर्ब ४८ करोड रुपैयाँ बराबरको ४ लाख २४ हजार किलो लिटर डिजेल र ५८ करोड २९ लाख रुपैयाँको ४ हजार ३४४ किलोलिटर मट्टीतेल आयात भएको छ ।

गत वर्ष सोही अवधिमा २४ अर्ब १० करोड रुपैयाँ बराबरको ३ लाख ६ हजार किलोलिटर पेट्रोल, ४९ अर्ब २ करोड ८७ लाख रुपैयाँको ६ लाख ४५ हजार किलोलिटर डिजेल र ५२ करोड रुपैयाँ लगानीमा ६ हजार ६५२ किलोलिटर मट्टीतेल आयात भएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ मा कुल २ खर्ब ४१ अर्ब ३० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । सो मूल्यमा २५ लाख १० हजार किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको थियो ।

यस्ता छन् खपत घट्नुका कारण

चालु आर्थिक वर्षमा पेट्रोलियम पद्धार्थको खपत घट्नुमा मुख्य ४ कारण रहेको बताइन्छ । अन्तर्राट्रिय बजारमा तेलको भाउ बढ्नु, ठूला उद्योगहरू न्यून क्षमतामा संचालन हुनु, विद्युतीय सवारीको प्रयोग बढ्नु, नेपालमाभन्दा भारतीय बजारमा तेलको भाउ सस्तो हुन लगायत कारण रहेका छन् ।

नेपाल आयल निगमका सहप्रवकता पुष्कर कार्की पेट्रोलियम पदार्थको आयात घट्नुको मुख्य कारण तेलको मूल्य वृद्धि हुनु, ठूला उद्योगहरूमा डिजेल खपत नहुनु रहेको बताउँछन् ।

‘अन्तर्राष्ट्रिय बजारमा इन्धन संकटका कारण मूल्यवृद्धि ३० प्रतिशतले बढेको छ । इन्धनको मूल्य बढ्दा माग पनि घटेको हो’, उनले भने, ‘डिजेल खपत गर्ने आन्तरिक उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । अर्कोतर्फ भारतभन्दा नेपालमा महंगो भएकाले सीमा क्षेत्रका नेपालीहरूले भारत गएर इन्धन हाल्ने गरेका छन् ।’

तरलता अभावका कारण यस वर्ष बैंकहरूले घर निर्माणका लागि ऋण दिन सकेका छैनन् । सरकारले पनि पूँजीगत खर्च गर्न नसक्दा विकास निर्माणले गति लिन सकेका छैन । विकास निर्माणमा प्रयोग हुने सवारीसाधन तथा उपकरण संचालन नहुँदा पनि खपत घटेको हो ।

त्यस्तै, अर्थतन्त्रमा आएको मन्दीका कारण डण्डी, सिमेन्ट लगायत ठूला उद्योग पूर्ण क्षमतामा संचलन हुन सकेका छैन । जसकारण डिजेलको खपतमा भारी गिरावट आएको छ । साथै, केही उद्योगहरूले मागेजति बिजुली पाउँदा पनि खपत घटेको हो ।

त्यसैगरी, विद्युतीय गाडीको आयात बढ्दा पनि इन्धन खपतमा गिरावट आएको हो । चालु आवको ५ महिनामा ४ हजार ६६७ थान कार, जीप, भ्यान लगायतका चारपाङ्ग्रे सवारीसाधन आयात भएको छ । यो गत वर्षको तुलनामा झन्डै १ हजार बढी हो । गत वर्ष सोही अवधिमा ३ हजार ६८१ वटा सवारीसाधन आयात भएको थियो ।

त्यस्तै, नेपालमा भन्दा भारतीय बजारमा तेल सस्तो हुँदा पनि खपत घटेको उनले बताए । भारतीय बजारमा तेल सस्तो भएपछि सीमा क्षेत्रका बासिन्दा तेल भर्न पारी जाने गरेका छन् । साथै, ट्यांकर र मालबाहक सवारीसाधनले उतै तेल भरेर आउने गरेकाले नेपालमा खपत घटेको हो ।

खाना पकाउन पनि ग्यासको सट्टा इन्डक्सन चुलोको प्रयोग बढ्दै जाँदा पनि ग्यास खपतमा केही गिरावट आएको हो ।

अघि बढाइँदै ४५४ मेगावाटको अर्धजलाशयुक्त किमाथाङका अरुण जलविद्युत् Read Previous

अघि बढाइँदै ४५४ मेगावाटको अर्धजलाशयुक्त किमाथाङका अरुण जलविद्युत्

'हाइड्रो हब' बन्दै लमजुङको दोर्दी कोरिडोर, राष्ट्रिय प्रसारणमा जोडियो ४ आयोजनको बिजुली Read Next

'हाइड्रो हब' बन्दै लमजुङको दोर्दी कोरिडोर, राष्ट्रिय प्रसारणमा जोडियो ४ आयोजनको बिजुली