अघि बढाइँदै ४५४ मेगावाटको अर्धजलाशयुक्त किमाथाङका अरुण जलविद्युत्

सांकेतिक तस्वीर

काठमाडौं । कुल ४५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले सूचनामार्फत् सङ्खुवासभा जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको परामर्शदाताका रुपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ ।

आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा अवस्थित छ । पछिल्ला दिनमा ‘हाइड्रो’ हबका रुपमा परिचित अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक छ । एउटै वडाभित्र सीमित सो आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ ।

कम्पनीका अनुसार अरुण नदीमा जगदेखि १४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो बाँध निर्माण हुनेछ । सोही बाँधका कारण अरुण नदीमा करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल बन्नेछ । तालमा एक सय तीन लाख घनमिटर क्षमताको जलाशय बन्नेछ ।

भोटखोला गाउँपालिका– २ को लिहम गाउँबाट करिब ५०० मिटर तल पुङमुछीमा विद्युत् गृह निर्माण हुनेछ । आयोजनाका लागि आठ मिटर व्यास भएको करिब ५ हजार ९१८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ ।

कम्पनीका अनुसार पानीको डिजाइन बहाव करिब १४३ घनमिटर प्रतिसेकेण्ड र करिब ३७९.५२ मिटरको कूल हेड प्रयोग गरिनेछ । त्यसबाट वार्षिक करिब २ हजार ६५५.१२ गिगवाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ ।

विद्युत्गृह भूमिगत हुनेछ । त्यसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई चार वटा टर्बाइनमा खसाली विद्युत् उत्पादन हुनेछ ।

विद्युत् उत्पादन पश्चात् करिब ७५१.०५ मिटर लामो रेलरेस सुरुङमार्फत पानी पुनः अरुण नदीमा नै छाडिनेछ । आयोजनाका संरचनासम्म पुग्नका लागि २६.८ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ ।
आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछ । आयोजनाले वातावरणीय रुपमा पार्नसक्ने प्रभावको बारेमा आवश्यक जानकारी सात दिनभित्र दिन कम्पनीले आग्रह गरेको छ ।

अरुण नदीमा नै हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले कुल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, सोही कम्पनीले तल्लो अरुण समेत जिम्मा लिएको छ ।

अरुण चार जलविद्युत् आयोजनाको पनि प्राधिकरण र सोही कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् । १ हजार १०० मेगावाट क्षमता बराबरको माथिल्लो अरुणको पनि प्रक्रिया अगाडि बढाइएको छ ।

आयोजनाका लागि प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ ।

हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडीसीएल) ले आन्तरिक रुपमा वित्तीय व्यवस्थापनको काम सुरु गरेको छ । यस आधारमा ऊर्जा नदीका रुपमा परिचित अरुण नदीमा नै किमाथाङका अरुणको काम समेत सुरु भएको हो ।

फास्ट ट्रयाकको काम चाँडो सक्न अनुगमन र समन्वय समिति Read Previous

फास्ट ट्रयाकको काम चाँडो सक्न अनुगमन र समन्वय समिति

पेट्रोलियम पदार्थ आयातमा उच्च गिरावट, यी ४ कारण घट्यो खपत Read Next

पेट्रोलियम पदार्थ आयातमा उच्च गिरावट, यी ४ कारण घट्यो खपत