काठमाडौं । कोहलपुरबाट लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघुजलविद्युत् आयोजना वर्षमा पटक(पटक बिग्रन्छन् । स्थानीयवासीले बिजुलीको राम्रो सुविधा पाउन सकेका छैनन् ।
यही अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले नै १५० मेगावाट क्षमताको जवा तिला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ । प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि रु २५ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो ।
जुम्लामा बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने र बिक्री गरी आम्दानी समेत गर्ने लक्ष्यका साथ संविधानसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेको बताए।
उनको अनुरोधलाई स्वीकार गर्दै प्राधिकरणको गत मङ्सिर २१ गतेको सञ्चालक समितिको बैठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । पूर्वमन्त्री भण्डारीका अनुसार आयोजना तीन वटा ढाँचामा निर्माण गर्ने गरी तयारी गरिएको छ । तल्लो क्षमतामा ७० मेगावाट, मझौला हिसाबले निर्माण गर्दा एक सय मेगावाट र पूर्ण क्षमतामा जाँदा १५० मेगावाट बराबर रहनेछ ।
प्रारम्भिक अनुमानमा आयोजनाको कुल लागत रु ३५ अर्ब बराबर रहनेछ । क्षमता तलमाथि हुँदा लागतमा पनि तलमाथि नै हुनसक्ने उनको भनाइ छ । जुम्लाको तिला गाउँपालिकामा आयोजनास्थल रहेको आयोजना कर्णालीको सहायक नदी तिला कर्णालीमा निर्माण हुनेछ ।
प्राधिकरणको सञ्चालक समितिले निर्णय गरी अनुमतिपत्रलगायतको प्रक्रियामा अगाडि बढिसकेको छ । ‘आयोजनाको कार्यान्वयन भएपछि तिला र जवा नदीमा बगिरहेको पानीबाट हुने आम्दानी जुम्लाका जनताको जीवनमा प्रतिविम्बित हुनेछ,’ पूर्वमन्त्री भण्डारीले भने, ‘जुम्लाका जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै गराउने छैन । मुलुकका लागि विजुली निर्यातमा समेत सहयोग पुग्नेछ ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजना प्रारम्भिक अध्ययनका आधारमा उपयुक्त देखिएकाले प्राधिकरणले निर्माण गर्ने गरी निर्णय भएको बताइन् । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिका अध्यक्ष छिन् ।
परियोजनाको पहलकर्तासमेत रहेका पूर्वमन्त्री भण्डारीले आयोजना निर्माणपछि जुम्लाको समग्र आर्थिक अवस्थामा सुधार हुने र खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग हुने बताए ।
अध्ययन अनुसार कर्णाली प्रदेशमा हालसम्म १८ हजार मेगावाट क्षमताका आयोजना पहिचान भएका छन् । त्यसमध्ये नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको चर्चा सुरु भएको लामो समय भए पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन ।
लगानी बोर्डले भारतीय प्रर्वद्धक कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)लाई वित्तीय व्यवस्थापन गर्न सर्तसहित समय थप गरे पनि पछिल्ला दिनमा देखिने गरी प्रगति हुनसकेको छैन । यस्तै, मुगुमा रहेको १ हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको एनईए इञ्जिनियरिङ कम्पनीले विस्तृत इञ्जिनियरिङ अध्ययन गरिरहेको छ ।
त्यस्तै ४२६ मेगावाट क्षमताको फुर्कोट कर्णाली जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया पूरा भएको छ । अर्धजलाशययुक्त प्रकृतिको सो आयोजना निर्माणमा जाने तयारीमा छ ।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना तथा त्यसको सञ्चालनलगायतका महत्वपूर्ण भूमिका खेलेका पूर्वमन्त्री भण्डारीले भने, ‘जुम्लाले यतिबेला चिकित्सक उत्पादन गरेर दिए जस्तै जवा तिला आयोजनाको निर्माणपछि बिजुली पनि दिन्छ । हामी सोहीअनुसार आवश्यक प्रक्रियामा लागेका छौँ । आशा गरौँ, छिट्टै, हामी निर्माणमा जानेछौँ ।’