काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २५ वटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र ५ ओटा स्कुटर धनीलाई बुझाएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
उनका अनुसार यस आर्थिक वर्ष सुरु भए पश्चात सवारी साधन हराएको भनि ७०१ निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २४८ वटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो ।
जसमध्ये साउन महिनामा ७३ वटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र मंसिरमा ३७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । धनी नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।