काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको पुस ६ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर, चितवनमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले सभामा कालिका कन्स्ट्रक्सन प्रालि अन्तर्गतको गोरखास्थित दरौदी खोलामा प्रस्तावित ८.३ मेगावाटको माथिल्लो ‘दरौदी बी’ साना जलविद्युत आयोजना र ९.८२ मेगावाटको माथिल्लो ‘दरौदी सी’ साना जलविद्युत आयोजना खरिद गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव लैजाने भएको छ ।
त्यसैगरी, कम्पनीले लेखापरीक्षक नियुक्त गर्ने, गत वर्षको वार्षिक प्रतिवेदनमा छलफल गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्ने लगायत प्रस्तावहरु पनि एजेन्डाको रुपमा लैजाने भएको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १७ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।