सरसफाइबाट व्यवसायिक छलाङ मार्न सफल कृष्णप्रसाद

सरसफाइ व्यवसायी, कृष्णप्रसाद ढुंगाना

काठमाडौं । कृष्णप्रसाद ढुंगाना एक सरसफाइ कर्मी हुन् । रित्तो हाल वि.सं.२०२१ सालमा १६ वर्षको उमेरमा उनी सिन्धुपाल्चोकबाट काठमाडौं आए । काठमाडौंमा आएपछि ९ वर्षसम्म अरूको घरमा भान्सेको रुपमा काम गरेका उनले २०२९ सालमा प्रेसमा छाप्ने काम सिकेका थिए ।

‘श्री ५ को सरकार केन्द्रीय टेलिफोन कार्यलय थियो । त्यहाँको सेक्सन अफिसरको घरमा खाना पकाउने काम गरे, बिना तलब त्यत्रो वर्ष बिताए पछि उहाँहरूले प्रेस बनाउनुभएको थियो, त्यसैमा मैले काम सिकेर छाप्ने काम गर्ने मौका पाए,’ ढुंगानाले चाणक्य पोष्टसँग भने ।

त्यस समयमा मदनमणी दिक्षीत, रमेशनाथ पाण्डे, विजयकुमार लालदास, उमाकान्त लालदासको पत्रिका छाप्ने काम गरेका उनले २०३६ सालमा विवाह गरे । अरूको काम गरेर दुई जनाको जहान पाल्न गाह्रो भएपछि उनीे स्वरोजगार हुने निधो गरे । जस क्रममा उनले साबुन बेच्ने काम सुरू गरेका थिए ।

साबुन बेचेर खासै नाफा  कमाउन नसकेपछि उनले २०४४ देखि मैनबत्ति बनाउने काम सुरू गरे । सुरूको समयमा खासै नाफा नकमाए पनि २०४८ देखि २०५० सम्ममा उनले १० लाख कमाई गरे । सो रकमले उनले त्यस बेला ३ लाख रुपैयाँमा साढे ३ आना घडेरी लिएर १ तले घर बनाए ।लोडसेडिङ हटेपछि उनले मैनबत्तीको व्यापार छाडेर सेफ्टी ट्याङ्की सरसफाइ तिर लाग्ने निर्णय गरे । २२ वर्ष सेफ्टी ट्यांकी सरसफाइमा लागेका उनले सुरूमा पार्टनरसिपमा काम थालेका थिए । पार्टनरसिपमा धोका खाएका उनले २०५५ सालमा फाइनान्सबाट ऋण लिई ट्यांकर किनेर आफैले सेफ्टी ट्यांकी सरसफाइ गर्ने काम सुरू गरेका थिए । ६ लाख रुपैयाँ ऋण लिएर ट्यांकर किनी सरसफाइको काम सुरू गरेको १ वर्षमा उनले ऋण चुक्ता गरेका थिए ।

सो समयमा थोरै ठाउँमा मात्र ढल बनेकाले धेरै जसोको घरमा सेफ्टीट्यांकी नै हुने गरेको उनी बताउँछन् । उनले एक टिपरको ३ हजार २६४ रुपैयाँ ज्यालामा सरसफाइ गर्ने काम गर्थे ।

त्यसपछि ८ वटा सेफ्टी ट्याङ्की अरूले पनि थपे र संघ बनाएर काम गरेका थिए । पछि संघ टिकेन । उनी अहिले काठमाडौंमा धेरै ढल निर्माण भएकाले सेफ्टी ट्यांकर सरसफाइको काम नभएको बताए ।

अहिले देशभर लगभग ७० वटा ट्याङ्कर रहेको उनले बताए । हाल बाटो नभएका स्थानमा मात्र सेफ्टी ट्याङकी रहेको कारण धेरै काम नभएको उनले बताए । पछिल्लो समय सेफ्टी ट्यांकी सरसफाइ गरेको प्रतिटिपर दूरी अनुसार ३५ सय देखि ७ हजार रुपैयाँसम्म पर्ने गर्छ ।

उनले २२ वर्ष सेफ्टी ट्यांकर सरसफाइ गरेर नै इमाडोलमा ३ लाख रुपैयाँमा डेढ रोपनी जग्गा र गोकर्णमा डेढ रोपनी जग्गा किनेको बताए । हाल त्यो जग्गाको भ्यालू ५ करोड बढी रहेको उनी बताउछन् । उनले सोही काम बाट ३ छोरा १ छोरीलाई पढाएर विवाह समेत गराइ सकेका छन् ।उनका माइलो छोरा अष्ट्रेलियामा छन् । अन्य २ छोरा पानि ट्यांकी सरसफाइमा लागेको उनले बताए । छोरीले उनलाई विज्ञापनका लागि सघाउने गरेको उनले बताए ।

‘हाम्रो पूर्वजले दिशा भनेपछि छिछि भनेर सिकाए, तर हाम्रो शरीर पनि गहनाउँछ, दिशा पिसाब जोगाएर यसलाई १ महिनामा मल बन्छ,’ ढुंगानाले भने ‘हाम्रो पालामा कतै दिशा गर्यो भने पछाडि फर्केर हेर्दा पोडिनी आमाहरूले उठाएर मल बनाउन लगिसक्थे, र बेच्ने गर्थे ।’ अहिले उनले २ कर्मचारी खटाएर सेफ्टी ट्यांकर सरसफाइ गरिरहेको बताए ।

पानी ट्यांकी सरसफाइमा लाग्दै परिवारै

विगत १ वर्षदेखि उनी सपरिवारसहित पानीको ट्यांकी सरसफाइमा लागेका छन् । ठूलो छोरा, कान्छो छोरा र छोरीसँग मिलेर उनले पानी ट्यांकी सरसफाइको काम सुरू गरेको बताए ।

दुई छोरा सहित ६ वटा गाडी सञ्चालन गरी पानी ट्यांकी सरसफाइको काम गरिरहेको उनले बताए । ११ लाख रुपैयाँ लगानीमा सपरिवार लागेर पानी ट्यांकी सरसफाइको काम सुरू गरेका हुन् ।

 

पैसा फिर्ता गर्न नसकेर ३ महिनादेखि बन्द सहकारी खुल्न थाले Read Previous

पैसा फिर्ता गर्न नसकेर ३ महिनादेखि बन्द सहकारी खुल्न थाले

हिमालयन र सिभिल बैंकको लाभांश घोषणा, कुनको कति ? Read Next

हिमालयन र सिभिल बैंकको लाभांश घोषणा, कुनको कति ?