कात्तिकसम्म वाणिज्य बैंकको नाफा ९% बढ्यो, १० वटाको अर्ब माथि, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)मा वाणिज्य बैंकहरूको खुद नाफा साढे ९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा कर्जा लगानी खुम्चिए पनि ब्याजदर बढ्दा बैंकहरूको नाफा बढेको हो ।

चालु आवको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले कुल २४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९.५४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २२ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा बैंकहरूले २ अर्ब १३ करोड रुपैयाँले नाफा वृद्धि गरेका छन् । गत वर्ष बैंकहरूले पहिलो चौमासिकमा झन्डै साढे ३ खर्ब कर्जा विस्तार गरेका थिए भने चालु आवमा जम्मा ५० अर्ब मात्र कर्जा लगानी गरेका छन् । गत वर्षको तुलनामा अत्यन्त कम कर्जा विस्तार गरे पनि बैंकहरूले ब्याज बढाएका कारण नाफा बढ्न पुगेको हो ।

चरम तरलता अभावका कारण बैंकहरूले चालु आवमा माग अनुसार कर्जा लगानी गर्न सकेका छैनन् । यद्यपि, मंसिर यता तरलता केही सहज भए पनि महँगो ब्याजका कारण कर्जाको माग छैन ।

१ वर्षको अवधिमा बैंकहरूको ब्याजदर झन्डै दोब्बरले बढेको छ । गत कात्तिकमा औसतमा ७/८ प्रतिशत रहेको बैंकको बेसरेट अहिले दोहोरो अंकमा पुगेको छ भने कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । बैंकहरूको व्यवसाय नबढे पनि ब्याजदर बढ्दा नाफामा बढोत्तरी आएको हो ।तरलता अभावकै बाबजूद केही बैंकहरूले नाफामा उल्लेख्य वृद्धि गरेका छन् । हाल संचालनमा रहेका २६ वटा बैंकमध्ये समीक्षा अवधिमा १८ बैंकको नाफा बढेको छ भने ८ बैंकको घटेको छ ।

समीक्षा अवधिमा कुमारी बैंकको नाफा दोब्बर बढी अर्थात् १०३.३५ प्रतिशतले बढेको छ भने कृषि विकास बैंकको सबैभन्दा धेरै ५४.३८ प्रतिशतले घटेको छ ।

धेरै नाफा कमाउनेमा नबिल नै अगाडि

समीक्षा अवधिमा २६ वटा वाणिज्य बैंकहरूमध्ये नबिल बैंक्ले सबैभन्दा धेरै नाफा कमाएकाे छ । कात्तिकसम्म नबिलले २ अर्ब ३ करोड खुद नाफा कमाएके छ ।

यसैगरी, दोस्रो धेरै नाफा कमाउनेमा एनआइसी एशिया रहेको छ । एनआइसीले पनि २ अर्ब बढी नाफा कमाएको छ । कात्तिकसम्म ८ बैंकले १ अर्ब बढी नाफा कमाउन सफल भएका छन् । यस अवधिमा ग्लोबल आइएमई, एनएमबी, नेपाल इन्भेष्टमेन्ट, कुमारी, एभरेष्ट, प्राइम र स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब बढी नाफा कमाएका छन् ।

समीक्षा अवधिमा कृषि विकास बैंक्ले सबैभन्दा कम ३१ करोड नाफा कमाएको छ ।

विश्वकपमा 'बेट' खेलाउने नेपाली एजेन्टको २३ बैंकमा खाता, वालेटबाट ८ करोडको कारोबार Read Previous

विश्वकपमा 'बेट' खेलाउने नेपाली एजेन्टको २३ बैंकमा खाता, वालेटबाट ८ करोडको कारोबार

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द Read Next

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द