विश्वकपमा ‘बेट’ खेलाउने नेपाली एजेन्टको २३ बैंकमा खाता, वालेटबाट ८ करोडको कारोबार

काठमाडौं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ ।

नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैंक खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा सट्टाबाजीमा रु साढे २ करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाएको प्रहरीको भनाइ छ । सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टाबाजीको रकम सङ्कलन गर्ने कार्यमा चाँगुनारायण नगरपालिका– ९ ताथली बस्ने ३१ वर्षका सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ का २५ वर्षीय अजय भेल पक्राउ परेपछि तथ्य खुलेको हो ।

उनीहरुलाई मुलुकी अपराधसंहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न/गराउन नहुने कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।

उनीहरुलाई वान एक्स बेटले खेलाडीमध्येबाट बढी रकम हारेका व्यक्तिको पहिचान गरी विभिन्न प्रलोभन देखाएर एजेन्ट बनाएको पाइएको छ । पक्राउ परेका व्यक्तिले सट्टाबाजी गराउन विगत एक वर्षदेखि एजेन्टको रुपमा काम गर्दै आएको खुलेको छ । सट्टेबाजीको रकम भने रेड्डी नामको एप्लिकेसन मोबाइलमा ‘इन्स्टल’ गर्न लगाई कारोबार गर्ने गरेको र त्यही रकम भुक्तानीको आधारमा कमिसन दिने गरेको पाइएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका चौगुठीको २३ वटा बैंकको २५ वटा खाताको कारोबार विवरण माग गरिएकोमा हालसम्म सात बैंकमार्फत उनले एक वर्षको अवधिमा रु २ करोड, ४५ लाख ७१ हजार ८९९ कारोबार गरेको खुल्न आएको र अन्य बैंकको विवरण प्राप्त हुने क्रममा रहेको कोइरालाले बताए ।

भेलको विभिन्न १९ बैंक खाताको कारोबार माग गरिएकोमा हालसम्म प्राप्त सात बैंकको खाताको विवरणमा करिब ६ महिनाको अवधिमा रु ६० लाख ३० हजार कारोबार भएको खुलेको छ । अनुसन्धानमा वान एक्स बेटमार्फत हुने कारोबार क्रिप्टोकरेन्सीको कारोबारसँग अन्तरसम्बन्धित रहेको पाइएको छ ।

सट्टाबाजी गर्ने समूह बढ्दो रहेको बताइएको छ । यसअघि मङ्सिर २८ मा पक्राउ परेका लमजुङका सुजन गौलीले उक्त सट्टेबाजीमा इसेवा, आइएमइ, खल्ती सेवाबाट मात्रै रु २ करोड ३६ लाख कारोबार गरेको पाइएको छ ।

अनुसन्धानका क्रममा अन्य विभिन्न २६ डिजिटल वालेटमार्फत उनले झण्डै रु ८ करोड बराबरको कारोबार गरेको खुल्न आएकोमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मङ्सिर २६ पक्राउ परेका ललितपुरका आदर्श ठाकुरले पनि यस्तै एपमार्फत रु दुई करोड बढीको कारोबार गरेको फेला परेको थियो । उनी पनि प्रहरीको अनुसन्धानमै छन् । मङ्सिर २५ गते पाल्पाका रुद्रप्रसाद पोखरेल र भारतका पवनकुमार शर्मा काठमाडौँको नरदेवीबाट सट्टेबाजीकै कसूरमा पक्राउ परेका थिए ।

पछिल्ला घटनाक्रमले प्रविधिको दुरुपयोग तीव्र रुपमा बढिरहेको देखिएको र त्यहीमार्फत प्रलोभनमा परेर मानिस ठूलो रकम ठगीमा पर्ने गरेकाले त्यसबाट सतर्क रहनुपर्ने केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन् ।

५ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक Read Previous

५ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक

कात्तिकसम्म वाणिज्य बैंकको नाफा ९% बढ्यो, १० वटाको अर्ब माथि, कुनको कति ? Read Next

कात्तिकसम्म वाणिज्य बैंकको नाफा ९% बढ्यो, १० वटाको अर्ब माथि, कुनको कति ?