प्राधिकरणले भारतलाई बेच्न छाड्यो बिजुली

काठमाडौं । नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

प्राधिकरणले यसवर्ष कुल रु ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको थियो ।

सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले कुल ४१९ मेगावाटसम्म निर्यात गरेको थियो । भारतमा प्रतियुनिट विजुली औसत ८ रुपैयाँ २५ पैसामा बिजुली विक्री गरिएको थियो ।

प्राधिकरणले दैनिक बोलकबोलमार्फत् तय हुने ‘डे अहेड’ मार्केटमा बिजुली विक्री गरेको थियो । पछिल्लो पटक कूल चार सय १९ मेगावाट बराबरको बिजुली विक्रीका लागि अनुमति प्राप्त भएको थियो । प्राधिकरणले थप केही आयोजनाको बिजुली विक्रीका लागि अनुमति मागेको भए पनि लामो समयसम्म निर्णय आएको थिएन ।

नदीमा जलसतह घटेपछि आन्तरिक माग व्यवस्थापनका लागि प्राधिकरणले हाल भारतबाट तीन हजार मेगावाट घण्टा बराबरको बिजुली आयात गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

बिहान ३ बजेदेखि ११ बजेसम्मको माग व्यवस्थापनका लागि प्राधिकरणले बिजुली आयात गरिरहेको छ । सो समयमा माथिल्लो तामाकोशी र कालीगण्डकी ‘ए’ आयोजना बन्द गरिने गरिएको छ । प्राधिकरणका अनुसार हाल कुल माग १ हजार ५१२ मेगावाट बराबर छ ।

चिसो बढेसँगै बिजुलीको मागमा पनि वृद्धि भइरहेको छ । कोठा न्यानो बनाउन बिजुलीको प्रयोगमा वृद्धि भएपछि मागमा वृद्धि भएको हो । कुल उत्पादित बिजुलीमध्ये प्राधिकरणका आयोजनाबाट ७ हजार ८७४ मेगावाट घण्टा, सहायक कम्पनीका आयोजनाबाट चार हजार ४४३ मेगावाट घण्टा उत्पादन भएको छ ।

त्यस्तै, निजी क्षेत्रका आयोजनाबाट १२ हजार ७४० मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै, विभिन्न स्थानमा भएको अवरोधका कारण २३३ मेगावाट घण्टा प्रणालीभन्दा बाहिर छ । मुलुकभित्रको कुल जडित क्षमता २ हजार २५० मेगावाट बराबर छ । चालु आवको अन्त्यसम्म प्रणालीमा थप ८०० मेगावाट बराबरको बिजुली थप हुनेछ ।

प्राधिकरणको माग अनुसारको अनुमति नपाएपछि वर्षायाममा केही बिजुली खेर गएको थियो । चालु आवमा थप हुने बिजुलीको भारत निर्यातका लागि वा आन्तरिक खपतका लागि आवश्यक व्यवस्था गर्न नसकिए प्राधिकरणलाई ठूलो घाटा हुने अवस्था पनि उत्तिकै छ । तर हिउँद लागेपछि नदीमा जलसतह ओरोलो लाग्दा अपेक्षित क्षमता अनुसारको बिजुली उत्पादन हुनसक्दैन ।

यद्यपि चालु आवको तीन महिनामा मात्रै प्राधिकरणले ८ अर्ब ५० करोड बराबरको नाफा कमाएको छ । यस्तै, २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई रु ३० मात्रै महसुल तिर्दा हुने व्यवस्था गरिएको छ । त्यसबाट पनि प्राधिकरणले उपभोक्तालाई वार्षिक रु २० अर्ब बराबरको राहत दिएको दाबी गरेको छ ।

आन्तरिक रुपमा नै बिजुलीको खपत बढाउनका लागि पहल भए पनि पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा बिजुलीको माग घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा उपभोक्ता मुद्रास्फीति बढेकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । जसको प्रभाव पनि बिजुलीको खपतमा परेको छ ।

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

५ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक Read Next

५ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक