काठमाडौं । २२ संस्करणको विश्व्कप फुटबल सम्पन्न भएको छ । आइतबार कतारको लुसैल रंगशालामा भएको फाइनल खेलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले उपाधि चुमेको छ ।
मंसिर ४ गतेदेखि कतारमा सुरु भएको यस प्रतियोगितामा ३२ देशले सहभागिता जनाएका थिए । आर्थिक हिसाबले यो विश्वकप हालसम्मकै महँगो भएको छ ।
कतार विश्वकपको कुल लागत २२० अर्ब अमेरिकी डलर (२६८ खर्ब नेपाली रुपैयाँ) रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । यो रकम नेपालको हालको बजेट अनुसार झन्डै १५ वर्षको बजेट बराबर हो ।
यो रकम विश्वकपमा फुटबल खेलाइएका रंगशाला निर्माणदेखि सहभागी देश, खेलाडीले पाउने भत्ता, पुरस्कार समेत रहेको छ । हरेक विश्वकममा पुरस्कार रकम बढ्ने गरेको छ ।
यस वर्ष विश्वकपको पुरस्कारको नगद मात्रै ४२० मिलियन अर्थात् ४२ करोड डलर (५१ अर्ब नेपाली रुपैयाँ) रहेको छ । विश्वकपमा सहभागी हरेक देशले नगद पुरस्कार पाएका छन् ।
विश्वकप विजेता अर्जेन्टिनाले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर नगद (करिब ५ अर्ब ५७ करोड नेपाली रुपैयाँ) पाएको छ। यो ४ वर्षअघि रूसमा भएको विश्व विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी रकम हो ।
साथै, अर्जेन्टिनाले पाएको ट्रफीको मूल्य २० मिलियन डलर अर्थात् २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो र ६.१ किलोग्राम तौलको छ।
यस्तै, उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ६६ करोड रुपैयाँ नगद पाएको छ । यसैगरी, तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर (३ अर्ब ५८ करोड रुपैयाँ र चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड रुपैयाँ) नगद पाएको छ ।
यस्तै, क्वाटर फाइनलबाट बाहिरिएका पोर्चुगल, इङ्ल्याण्ड, ब्राजिल र नेदरल्याण्डले समान १७/१७ मिलियन अमेरिकी डलर (२ अर्ब ५९ करोड रुपैयाँ) पाएका छन् ।
यसैगरी, प्रिक्वाटर फाइनलबाट बाहिरिएका स्वीटजरल्याण्ड, स्पेन पोल्याण्ड, सेनेगल, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र अमेरिकाले १३/१३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड रुपैयाँ) नगद पाएका छन् ।
यस्तै, समूह चरणबाटै बाहिरिने घाना, उरुग्वे, सर्बिया, क्यामरुन, क्यानडा, बेल्जियम, कोस्टारिका, जमस्नी, डेनमार्क, ट्युनिसिया, साउदी अरेबिया, मेक्सिको, वेल्स, इरान, इक्वेडर र आयोजक कतारले पनि समान ९/९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड रुपैयाँ) पाएका छन् । यसका अलावा फिफाले हरेक खेलमा विजेता टिमलाई पनि नगद पुरस्कार दिने गरेको छ ।