काठमाडौं । चालु वर्षको सुरुदेखि उच्च रहेको अन्तर बैंक ब्याजदर पछिल्लो समय घट्दै गएको छ । वित्तीय प्रणालीमा तरलता सहज भएसँगै बैंकदर, सीडी रेसीयो लगायत वित्तीय सूचकहरु ओरालो लागेका हुन ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत कात्तिकमा ८.५० प्रतिशत पुगेको औसत अन्तर बैंक ब्याजदर मंसिर मसान्तसम्म आइपुग्दा १.५७ प्रतिशतले घटेर ६.९३ प्रतिशत कायम भएको छ ।
गत कात्तिकमा ४.९६ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर यस वर्षको सोही अवधिमा बढेर ८.५० प्रतिशत पुगेको थियो । यी सूचकहरुले प्रणालीमा तरलताको समस्या कम हुँदै गएको र ब्याजदर घट्ने संकेत देखाएको बैंकरहरु बताउँछन् ।
अन्तर बैंकदर घटेपछि बैंकहरुले नियामकसँग तरलता सुविधाको माग घटाएको राष्ट्र बैंकका अधिकारीहरुले बताइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अन्तर बैंकदरलाई साढे ८ प्रतिशत कायम गर्ने नीति लिएकोे थियो । जसअनुसार बैंकहरुले सो विन्दुभन्दा बढी ब्याजदर लिन पाउँदैनन् ।
ट्रेजरी बिलको ब्याजदर घटेर १०.४४ प्रतिशत कायम भएको छ । यस्तो ब्याजदर गत वर्षको कात्तिकमा ४.८१ प्रतिशत थियो भने अघिल्लो महिनाको कात्तिक मसान्तमा १०.४४ प्रतिशत पुगेको थियो ।
हाल बैंकहरुको आधारदर दोहोरो अंकमा छ भने निक्षेपको औसतमा ब्याजदर ८.३५ र कर्जाको १२.६५ प्रतिशत पुगेको छ । गत असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले त्यसयता बढाएका छैनन् ।
हाल निक्षेपको ब्याजदर १५ प्रतिशतसम्म पुगेको छ भने कर्जाको १८ प्रतिशत पुगेको छ । मंसिरमा प्रणालीमा तरलता कायम रहेपनि महंगो ब्याजका कारण कर्जा माग नहुँदा बैंकहरुले व्यवसाय विस्तार गर्न सकेका छैनन् ।
जसको कारण ब्याजदर योभन्दा उकालो लाग्ने ठाउँ नभएको वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् । अर्कोतर्फ पुसमा फेरि निक्षेप बाहिरीने भएकाले तरलताको समस्या अझ कायम रहने बताउन थालिएको छ ।