काठमाडौं । भारतबाट डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पुस १ गते (डिसेम्बर १६)मा पठाएको नयाँ मूल्यसूची अनुसार भाउ घटेर आएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा र डिजेल १२ रुपैयाँ २१ पैसा र हवाइ इन्धन १० रुपैयाँ २१ पैसा घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।
नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा १२ रुपैयाँ नाफा रहेको छ ।अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।
आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।पछिल्लो समय पेट्रोलियम पद्धार्थको भाउ लगातार घटेर आए पनि आयल निगमले भने घटाएको छैन । भदौ यता निगम लगातार नाफामा गए पनि उपभोक्तालाई भने राहत दिएको छैन ।