उत्पादन घटेपछि प्राधिकरणले भारतबाट किन्न थाल्यो बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली किन्न थालेको छ । हिउँदयाम लागेसँगै नदीमा पानीको प्रवाह कम भई विद्युत् उत्पादन घट्न थालेपछि प्राधिकरणले भारतबाट किन्न थालेको हो ।

प्राधिकरणले गत सातादेखि भारतबाट बिजुली किन्न थालेको हो । अन्य समयमा नेपालमै उत्पादित बिजुलीले माग धाने पनि बेलुकाको पीक आवरमा भारतबाट बिजुली किन्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता तथा प्रणाली सञ्चालन विभाग प्रमुख सुरेशकुमार भट्टराईले गत सातादेखि प्राधिकरणले विद्युत् आयात गर्न थालेको बताए । ‘प्राधिकरणले ५/६ दिनदेखि २ हजार मेगावाट आवर विद्युत् आयात गर्न थालेको छ । अहिले निर्यात करिब ४०० मेगावाट छ,’ उनले भने, ‘डिमान्ड अनुसार यहाँको उत्पादनले नधानेपछि आयात गर्न सुरू गरिएको हो । प्रतियुनिट करिब ४ रुपैयाँका दरले अहिले आयात भइरहेको छ यो क्रम अझै बढ्दै जान्छ ।’

हिउँदयाममा विद्युत्को माग बढ्ने र उत्पादन घट्ने क्रम अब केही समय बढ्दै जाने भएपछि आयातको रेसियो पनि बढ्दै जाने उनले बताए । पछिल्लो समय चिसो बढ्दै जानले पनि बिजुलीको माग बढेको उनले बताए ।

बिजुली किन्न थाले पनि प्राधिकरणले हाल निर्यात भने जारी राखेको छ । अझै केही समय पीक आवरबाहेक अन्य समयमा बिजुली बेच्न सकिने उनले बताए ।

हाल दैनिक २ हजार मेगावाट बिजुलीको माग रहेको प्राधिकरणले जनाएको छ । हालसम्म राष्ट्रिय प्रणालीमा जोडिएका जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता करिब २२०० मेगावाट छ । तर, हिउँदमा नदीमा पानी कम हुने हुनाले उत्पादन एकतिहाईसम्मले घट्ने गरेको छ । जसको कारण यसअवधिमा प्राधिकरणले भारतबाट विद्युत् आयात गरेर आपूर्ति गर्ने गरेको छ ।

जेठदेखि मंसिरसम्म प्राधिकरणले विद्युत् निर्यात गर्ने र बाँकी समय आयात गरेर माग धान्ने गरेको छ । हिउँदमा बिजुली नपुग्ने भए पनि वर्षायाममा भने खेर जाने गरेको छ ।

प्राधिकरणले हालसम्म ८ वटा आयोजनाको कुल ४०९ मेगावाट बिजुली बेच्न भारत सरकारबाट अनुमति पाएको छ । प्राधिकरणले माथिल्लो तामाकोशीसहित अन्य आयोजनाबाट उत्पादित बिजुली बेच्न अनुमति मागे पनि भारतले स्वीकृति नदिँदा वर्षायाममा खेर जाने गरेको छ ।

साढे १० अर्बको बिजुली निर्यात

चालु आर्थिक वर्षको साढे ५ महिनामा झन्डै साढे १० अर्बको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार जेठ १९ गतेदेखि कात्तिक मसान्तसम्म १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ । सो अवधिमा कुल १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारतीय बजारमा विक्री गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चालु वर्षको भदौमा सबैभन्दा धेरै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । भदौमा देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी भदौमा २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यसैगरी, साउनमा २ अर्ब १ करोड ८४ लाख रुपैयाँ, असोजमा १ अर्ब ७५ करोड ३८ लाख, कात्तिकमा १ अर्ब १ अर्ब ३८ करोड ५५ लाख, असारमा १ अर्ब ८६ करोड ८० लाख र जेठमा ८९ करोड ५४ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पहिलोपटक २०७८ कात्तिक (लक्ष्मीपूजा)को दिनदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरू गरेको थियो। यस वर्ष भने गत जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात सुरू भएको थियो ।

 

कोटेश्वर-भक्तपुर सडकमा नयाँ नियम लागू, अब अनिवार्य यी नियम पालना गर्नुपर्ने Read Previous

कोटेश्वर-भक्तपुर सडकमा नयाँ नियम लागू, अब अनिवार्य यी नियम पालना गर्नुपर्ने

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा, बोनसभन्दा नगद धेरै Read Next

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा, बोनसभन्दा नगद धेरै