कोटेश्वर-भक्तपुर सडकमा नयाँ नियम लागू, अब अनिवार्य यी नियम पालना गर्नुपर्ने

काठमाडौं । तपाईं आफ्नो सवारीसाधन सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ ? भाडाका सवारीसाधन हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न ? सावधान, तपाईं ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला ।

कोटेश्वरपूर्व भक्तपुरस्थित ६ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका चारवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति भक्तपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीका प्रतिनिधि एवं सरोकारवाला सम्मिलित बृहत् बैठकले भाडाका सवारीसाधनलाई बायाँ लेनमा मात्रै गुड्न पाउनेसहितको १४ बुँदे निर्णय गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रजिअ शर्माले यो निर्णयलाई कार्यान्वयनमा ल्याउँदै भाडाका सवारीसाधनलाई बायाँतर्फको लेनमा मात्र गुड्न आह्वान गरिएको बताउँदै अटेर गर्ने चालकलाई कारबाही हुने बताए । भाडाका बस दायाँ लेनबाट हुइँकिएर बायाँ लेनमा प्रवेश गर्दा र जुन पायो त्यही लेन प्रयोग गर्दा दुर्घटना बढेको पाइएपछि नेपालसहित अन्तर्राष्ट्रिय ट्राफिक नियमलाई कार्यान्वयनमा ल्याउँदै दुर्घटना घटाउन यो निर्णय लागू गरिएको उनले बताए ।

उनले भाडाका सवारीसाधन बायाँ साइडबाट मात्र चल्ने व्यवस्था कडाइका साथ लागू गर्ने, तोकिएको स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने, उच्च गतिलाई न्यूनीकरण गर्ने, लेन अनुशासन पालना गराउने, भाडाका सवारीसाधनमा भाडादर यात्रुले देख्ने गरी राख्ने, ज्येष्ठ नागरिक, अपाङ्गता, अशक्त, गर्भवतीलाई सवारी चढाउँदा र ओराल्दा विशेष सहजीकरण गरिदिने, आरक्षण सिटको पूर्ण पालना गराउने निर्णय गरिएको उनले बताए ।

प्रजिअ शर्माकाअनुसार चालक, सहचालकको बोली, व्यवहार, आचरण यात्रुमैत्री बनाउने, राजमार्ग तथा सडकपेटीमा थुपारिएका सामग्री तत्काल हटाउन लगाउने, जिल्लाभित्रका सडक निर्माण तथा मर्मतको काम सम्बन्धित कार्यालयले गर्ने, ट्राफिक नियम कडाइका साथ पालना गराउने, सडकको खाल्डाखुल्डी पुर्ने, चोक जक्सनमा ट्राफिक लाइट, सडक सङ्केत बोर्ड व्यवस्था गर्नेलगायतका निर्णय कार्यान्वयनमा ल्याइएको छ ।

भाडाका सवारीलाई बायाँ लेनमा मात्र गुड्न पाउने निर्णयलाई कडाइ गरिने बताउँदै महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका ट्राफिक प्रहरी निरीक्षक राजु कार्कीले अटेर गर्ने चालकलाई अब कारबाही गरिने बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भक्तपुरमा गत साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा १६९ वटा सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको र १४ जना गम्भीर घाइते भएको जानकारी दिए। उनले भक्तपुर सडकमा मोटरसाइकल चालक र भाडाका सवारी चालकको लापरवाहीले दुर्घटना बढेको बताए ।

ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक अवदेश विष्टले सवारीसाधन दुर्घटनालाई न्यूनीकरणका लागि गरिएको निर्णय कडाइका साथ लागू गर्ने बताउँदै यातायात व्यवसायीमार्फत भाडाका सबै सवारी चालकलाई बायाँ लेनमात्रै प्रयोग गर्न गराउन आग्रह गरे ।

प्रत्येक १५ दिनमा निर्णय कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिन सडक अनुगमन गरिने भएको छ ।

प्रदूषण जाँचमा फेल हुने सवारीसाधनलाई आजदेखि १ लाख जरिवाना Read Previous

प्रदूषण जाँचमा फेल हुने सवारीसाधनलाई आजदेखि १ लाख जरिवाना

उत्पादन घटेपछि प्राधिकरणले भारतबाट किन्न थाल्यो बिजुली Read Next

उत्पादन घटेपछि प्राधिकरणले भारतबाट किन्न थाल्यो बिजुली