प्रदूषण जाँचमा फेल हुने सवारीसाधनलाई आजदेखि १ लाख जरिवाना

काठमाडौं । वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई १ लाख रुपैयाँ जारिवाना गर्ने भएको छ ।

विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियोे ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ ।

यसैगरी विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ । विभागले गाडीको धुवाँ निष्काशनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत जनाएको छ ।

अहिले धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकामा आजदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु १ लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ ।

छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहर जलाउने तथा खुलारूपमा फोहर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुलारूपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा आधा घट्यो Read Previous

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा आधा घट्यो

कोटेश्वर-भक्तपुर सडकमा नयाँ नियम लागू, अब अनिवार्य यी नियम पालना गर्नुपर्ने Read Next

कोटेश्वर-भक्तपुर सडकमा नयाँ नियम लागू, अब अनिवार्य यी नियम पालना गर्नुपर्ने