इन्डक्सन चुल्होको आयात बढ्दै, ग्यास खपत घट्दै

काठमाडौं । इन्डक्सन चुल्होको प्रयोग बढेसँगै ग्यास खपतमा गिरावट आउन थालेको छ । एलपी ग्यासमाभन्दा खाना बनाउन सस्तो पर्ने भएपछि क्रमशः इन्डक्सन चुल्होको प्रयोग बढ्न थालेको हो ।

चालु आवको ४ महिनामा ग्यास खपत ६.२५ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आवको कात्तिकसम्म १६ करोड ७१ लाख केजी ग्यास आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४१ लाख केजी कम हो । गत वर्ष कात्तिकसम्म १७ करोड १२ लाख केजी ग्यास आयात भएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ मा कुल ६५ अर्ब ५५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको थियो । सो मूल्यमा ५३ करोड ५८ केजी ग्यास आयात भएको हो ।

पछिल्लो समय सरकारले इन्डक्सन चुल्होको प्रयोग बढाउन प्रोत्साहन गर्दै आएको छ । विद्युत् महशुल घटाएको छ भने विभिन्न इन्डक्सन चुल्होको प्रयोग बढाउन विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भित्र ग्यास विस्थापन गरी अनिवार्य विद्युतीय चुल्हो प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेको छ । साथै, विद्युतीय चुल्होको प्रयोग बढाउन सहुलियतमा चुल्हो विक्री गर्ने योजना समेत बनाएको छ ।

यद्यपि, सरकारले एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमशः कटौति गरी विद्युत उपयोगमा अनुदान प्रदान गर्ने नीति ल्याउने बताए पनि हालसम्म कागजमै सीमित भएको छ ।

प्रयोग बढेसँगै विद्युतीय चुल्होको आयात समेत बढेको छ । चालु आवको कार्तिक मसान्तसम्ममा अवधिमा १२ करोड ९४ लाख रुपैयाँ बराबरको ६४ हजार थान इन्डक्सन चुल्हो आयात भएको छ ।

गत आवको सोही अवधिमा २ करोड ६० लाख रुपैयाँ बराबरमा ११ हजार २६७ इन्डक्सन चुल्हो आयात भएको थियो । गत आर्थिक वर्षमा कुल २३ करोड ५२ लाख रुपैयाँ बराबरको इन्डक्सन चुल्हो आयात भएको थियो । सो मूल्यमा १ लाख १६ हजार थान इन्डक्सन चुल्हो आयात भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा कुल २१ करोड १९ लाख रुपैयाँ बराबरको इन्डक्सन चुल्हो आयात भएको थियो । सो मूल्यमा १ लाख ३३ हजार थान इन्डकसन चुल्हो आयात भएको थियो । सो आवको ४ महिनामा १२ करोड २ लाख रुपैयाँ बराबरको ८२ हजार ८३० थान इन्डक्सन चुल्हो आयात भएको थियो ।

नेपालमा चीन, भारत, यूएई लगायत मुलुकबाट इन्डक्सन चुल्हो आयात हुने गरेको छ । नेपाली बजारमा इन्डक्सन चुल्होको मूल्य ३ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म रहेको छ ।

 

 

चारतारे होटलको ‘किचन’ मा महिला सेफ Read Previous

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

शिवम् सिमेन्टको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा १९ प्रतिशत घट्यो Read Next

शिवम् सिमेन्टको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा १९ प्रतिशत घट्यो