कृषिमा ऋण लगानी ५ वर्षमै दोब्बरले वृद्धि, कर्जा दुरुपयोग हुँदा उत्पादन भने बढेन

काठमाडौं । कृषिको नाममा लगानी गरिरहेको अर्बौ रुपैयाँले कति प्रतिफल दिइरहेको छ भन्नेमा सरकारी अधिकारी र नीति निर्माता आफै अनभिज्ञ छन् ।

वर्षेनी सरकारले दिने अनुदान र सहुुलीयतपूर्ण कर्जा मात्र होइन,निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले समेत ठूलो हिस्सामा कृषि कर्जा प्रवाह गरेका छन् । तर त्यसअनुसार उत्पादकत्व तथा प्रतिफल भने बढ्न सकेको छैन ।

कृषक तथा कृषिको नाममा दिइने रकम वास्तविक किसानले पाउँदैनन् नै कृषिकै लागि बैंक तथा वित्तीय संस्थाले दिइरहेको कर्जा समेत त्यसको नामबाट अन्यत्रै लगानी भइरहेको विज्ञहरू बताउँछन् ।

अर्थशास्त्री डिल्लीराज खनाल वास्तविक कृषकले लगानी नपाउने र त्यसको नाममा बिचौलिया मार्फत अन्यत्रै दुरुपयोग भइरहेको बताउँछन् । ‘कृषिको नाममा अरूले नै फाइदा लिइरहेका छन् । जहाँ लक्षित गरिएको छ, त्यहाँका किसानले पाएका छैनन् । उत्पादनको मूल्य समेत नपाइरहेको अवस्थामा बिचौलियाकै बोलवाला छ,’ उनले भने, ‘कृषिलाई बजारीकरण, आधुनिकीकरण र मूल्यको चेनमा राखेर सुधार हुनुपथ्र्यो । विभिन्न अध्ययनहरूले नै देखाइरहेका छन्, वास्तविक कृषकसँग लगानी जोडीन सकेको छैन ।’

यद्यपि, कतिपय उत्पादनका पकेट क्षेत्रहरूमा उद्यमशीलता बढ्न थाले पनि बजार मूल्यसँग जोडिन नसकेको उनले बताए । ढिलो प्रतिफल प्राप्त हुने, बजारको सुनिश्चिता नहुँदा यो क्षेत्र कर्जा लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूको रोजाइमा पर्दैन । सोही कारण नियामक निकाय नेपाल राष्ट्र बैंकले संस्थाहरूलाई अनिवार्य क्षेत्रगत कर्जा प्रवाह गर्नुपर्ने नीति लिएको छ ।

तर, कृषिका नाममा प्रवाह भइरहेको कर्जा कृषिको उत्पादकत्व बढाउने प्रयोजनमै छ वा अन्यत्रै लगानी भइरहेको छ भन्ने लगानी र उत्पादनको अवस्था हेर्दा देखिन्छ । वास्तविक किसानहरू सरकारले दिइरहेको अनुदान र सहुलियत कर्जा सुविधाबाट जानकार छैनन् भने थाहा पाएपनि उनीहरूको पहुँचमा छैन ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले करिब ८ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जाको १६ प्रतिशत हिस्सा हो । जुन राष्ट्र बैंकले न्यूनतम तोकेभन्दा बढी पुगेको छ । तर, किसानहरूले भने बैंकबाट ऋण लिन समस्या भोग्नु परिरहेको बताउने गरेका छन् ।

हालसम्म संस्थाहरूले कुल ४७ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव पौडेल उत्पादन र वास्तविक कृषक मार्फत लगानी भएको भए उत्पादनमा फेरबदल आउनुपर्ने बताउँछन् ।

‘कृषिको नाममा लगानीको दुरुपयोग कसरी भइरहेको छ र त्यो रकम कसले पाइरहेका छन भन्ने विषयमा सरकार र राष्ट्र बैंकले उच्च स्तरीय संयन्त्र बनाएर अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘यस क्षेत्रको नाममा भइरहेको लगानी कहाँ गइरहेको छ भन्ने सबैलाई थाहा नै छ । तर, चुपचाप छन् ।’

लगानी बढे पनि उत्पादन बढ्न नसक्नु लगानी दुरुपयोगको नमूना भएको विज्ञहरू बताउँछन् । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा.प्रकाश श्रेष्ठ कृषि गरिरहेको मानिसले नै त्यसको नाममा कर्जा लिएर अन्यत्र लगानी गरेको हुनसक्ने बताउँछन् ।

‘कृषिमै गएको कर्जा कति यस क्षेत्रमा मात्र प्रयोग भयो भन्ने हो । पेसा के हो भन्दा कृषि हुन्छ, उसले सोही क्षेत्रको नाममा कर्जा पनि लिन्छ । तर, त्यसमा अतिरिक्त लगानी नभएका कारणले पनि उत्पादन बढ्न नसकेको हुन सक्छ,’ उनी भन्छन्, ‘अनुसन्धान भनेर राष्ट्र बैंकले सबै ऋणीको खाता हेरेर साध्य हुँदैन । मोटामोटी रुपमा राष्ट्र बैंकले सर्कुलर दिइरहेको हुन्छ । नियमन गर्दा पनि ऋणीले नियमित किस्ता तिरेको देखिन्छ ।’

कृषि कर्जा ५ वर्षमै दोब्बर

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो साढे ५ वर्षमा कृषि क्षेत्रको कर्जा लगानी ३ खर्ब ५५ अर्ब अर्थात ८५ प्रतिशतले बढेको छ । कृषि क्षेत्रमा वित्तीय संस्थाहरूको कर्जा लगानी आव २०७४/७५ सम्म ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेको थियो । चालु वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा यस क्षेत्रमा संंस्थाहरूले ७ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

राष्ट्र बैंकले कृषि क्षेत्रको विकासका लागि अनिवार्य क्षेत्रगत कर्जा विस्तारको व्यवस्था गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आव २०८२ सम्म १५ प्रतिशत विस्तार गरिसक्नु पर्नेछ ।

राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल कृषि क्षेत्रमा ७ खर्ब ७० अर्ब लगानी गरेका छन् । वाणिज्य बैंकले २०७९ असोजसम्ममा कृषि क्षेत्रमा ५१९ अर्ब ५७ करोड ( १२.३८ प्रतिशत) प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

विकास बैंकहरूले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको १९ प्रतिशत कर्जा कृषि, लघु, घरेलुतथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा चालु वर्षको पहिलो त्रैमाससम्म उक्त क्षेत्रहरूमा औसत २६.११ प्रतिशत अर्थात ११३ अर्ब ८० करोड कर्जा लगानी गरेका छन् ।

त्यसैगरी, वित्त कम्पनीहरूले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको १४ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस अवधिसम्म वित्तीय संस्थाहरूले उक्त क्षेत्रहरूमा औसत २१.२२ प्रतिशत अर्थात १८ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

बढेन उत्पादन, जीडीपीमा घट्दो योगदान

लगानी वृद्धिको तुलनामा कृषि क्षेत्रको उत्पादकत्व र कृल गाहस्र्थ उत्पादन (जीडीपी) मा योगदान घट्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा कुल जीडीपीमा कृषि क्षेत्रको हिस्सा २७.६५ प्रतिशत रहेको थियो ।

गत आवसम्म आइपुग्दा घटेर २३ प्रतिशतमा सीमित भएको सरकारी तथ्यांकले देखाउँछ । २०३० को दशकमा ७० प्रतिशतको हाराहारीमा जीडीपीको हिस्सा ओगटेको कृषि क्षेत्रको योगदान आधा बढीले घटेको देखिन्छ ।

२०३१/३२ जीडीपीमा कृषिको योगदान ६८.८८ प्रतिशत अर्थात ११ अर्ब ४३ करोड रुपैयाँ बराबर रहेको थियो । आव २०७७/७८ मा आइपुग्दा ९ खर्ब ११ अर्ब ९१ करोड रुपैयाँ बराबरको जीडीपीको आकार ओगटेको तथ्यांक छ ।

आव ०७५/७६ मा ३४ लाख ५० हजार १६३ हेक्टर क्षेत्रफलमा खाद्य बाली लगाइएकोमा १ करोड ६ लाख ८५ हजार ५५० मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।

गत आवमा ३४ लाख ८६ हजार हेक्टरमा खाद्य बाली लगाइएकोमा १ करोड ७ लाख ७२ हजार मेट्रिकटन उत्पादन भएको थियो । जुन अघिल्लो आवको तुलनामा ३.७ प्रतिशतले कमी हो । २०७७/७८ मा ३ लाख ४६ हजार हेक्टर क्षेत्रफल जमिनमा खाद्य बाली लगाइएकोमा १ करोड ११ लाख मेट्रिकटन उत्पादन भएको मन्त्रालयले जनाएको छ । यसैगरी, २०७६/७७ मा ३४ लाख २१ हजार हेक्टर जमिनमा खाद्य बाली लगाइएको थियो भने १ करोड ९ लाख ३५ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

 

नेप्सेमा १६ अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा १६ अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

इस्टर्न हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Next

इस्टर्न हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?