अहिले बैंकमा तरलताभन्दा पनि उच्च ब्याजदरको समस्या छ : पर्शुराम कुँवर क्षेत्रीको विचार

काठमाडौं । तरलताका सम्बन्धमा केही मिडियाहरूले र जानकारहरूले नै बैंकहरूमा तरलताको समस्या छ भनेर एकोहोरो रुपमा भनेर सर्वसाधारणमा ग़लत सूचना प्रवाह गरिएको छ। बैंकहरूमा कर्जा योग्य तरलताको समस्या थियो तर राष्ट्र बैंकको ताज़ा तथ्यांकहरूले त्यस्तो तरलताको समस्या नभएको देखाँउछ।

मंसिर २२ गतेको राष्ट्र बैंकको तथ्याँक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको (यसपछि ‘बैंकहरू’ भनिएको) कर्जा निक्षेप अनुपात ८६.४१ प्रतिशत छ। यसका आधारमा बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले बैंकहरूले थप क़रीब रु १९८ अर्ब कर्जा दिन सक्ने देखिन्छ। गत आवको पछिल्लो ६ महिनामा बैंकहरूको कर्जा वृद्धि रु ३३ अर्बले मात्र बढेको र चालु आवको मंसिर २२ सम्म रू ४६ अर्ब (झण्डै ११ महिनामा कर्जा वृद्धि रु ७९ अर्ब) मात्र भएको सन्दर्भमा  माथि उल्लेख भएको बैंकहरूको थप कर्जा दिन सकिने क्षमता रकम रू १९८ अर्ब उल्लेखनीय हो।

अहिले राष्ट्र बैंकले पुरानो पुनरकर्जाको भुक्तानी अवधिपछि नयाँ पुनरकर्जा प्रदान गरेको छैन। २०७९ कार्तिकमा पुनरकर्जा वक्यौता क़रीब रु १०५ अर्ब भएकोमा अहिले रु ८० अर्बको हाराहारीमा वक्यौता रहेको देखिन्छ यसमध्ये करीब ७०/७५ प्रतिशत वृद्धि पुनरकर्जाको म्याद आगामी पुस ५ र ६ गते सकिने बुझिएको छ।

२०७९ पुस मसान्तपछि स्थानीय निकायहरूको रकम ८० प्रतिशत वृद्धिको सट्टा ५० प्रतिशत वृद्धि मात्र बैंकहरूको निक्षेपमा गणना गर्न पाउने भएकोले यसको असर रु ३१/३२ अर्बको पर्नेछ। हालको पुनरकर्जा वक्यौता र स्थानीय निकायहरूको निक्षेपको असर समावेश नगर्दा पनि बैंकहरूको थप कर्जा दिने क्षमता रु ८६ अर्ब हुने देखिन्छ।

२०७९ साउनमा बैंकहरूको निक्षेप रू १२३ अर्बले घटेको थियो भने कर्जा रु ९ अर्बले बढेको थियो। त्यसपछि हरेक महिनामा कर्जाभन्दा बढी निक्षेप बढेको छ। चालु महिनामा पनि मंसिर २२ गतेसम्म निक्षेप रु ३० अर्बले बढ्दा कर्जा रु २ अर्बले मात्र बढेको छ। चालु आवको झण्डै ५ महिनामा (मंसिर २२ गतेसम्म) कर्जा रु ४६ अर्बले बढेको छ भने निक्षेप रु ५५ अर्बले बढेको छ।

अहिले बैंकहरूसंग रहेको कर्जा योग्य तरलता र विगत ४ महिनामा कर्जाको तुलनामा निक्षेप उल्लेख्य रुपमा बढेको (निक्षेप वृद्धि रु ७८ अर्ब र कर्जा वृद्धि रु ३७ अर्ब) परिदृश्यमा बैंकहरूको कर्जा योग्य तरलता सुविधाजनक रहने देखिन्छ। माथिका तथ्यहरूले अहिले बैंकहरूमा कर्जा योग्य तरलता अभावको समस्याभन्दा पनि उच्च ब्याजदरको समस्या रहेको देखिन्छ।

बैंकहरूले आफूसंग रहेको सरकारी सुरक्षणपत्र धितो राखी राष्ट्र बैंकबाट लिने रिपो र एसएलएफ रक़मको वक्यौता रकम क्रमशः घट्दै २०७९ मंसिर २५ मा रु २६.०१ अर्बमा घटेको छ। यस मध्ये बैंकहरूले २०७९ मंसिर १५ गते लिएको रिपो रु २० अर्ब मंसिर २९ गते चुक्ता भुक्तानी हुनेछ। बैंकहरूले २०७९ असार ९ गते राष्ट्र बैंकबाट लिएको रिपो र एसएलएफको वक्यौता  रक़म रु २४७.१८ अर्ब थियो। यो रकम अहिले सम्मकै उच्च वक्यौता रकम हो।

चालु आवको सुरू देखि नै अन्तरबैंक ब्याजदर वार्षिक ८.५ प्रतिशतको हाराहारीमा भएकोमा केही दिनदेखि मुद्रा बजारमा ब्याजदर घट्दै गएको छ। आज २०७९ मंसिर २५ गते अन्तरबैंक कारोबार वार्षिक ६.५ प्रतिशतको हाराहारीमा भएको बुझिएको छ। अहिले क़रीब १२/१३ वाणिज्य बैंकहरू अन्तरबैंक बजारमा सापटी दिन सक्ने अवस्थामा रहेको बुझिएको छ। यस्तो परिस्थितिले आगामी दिनमा (२०७९ मंसिर २६ कै ट्रेजरी बिल्सको वोलकवोलमा समेत) सरकारी सुरक्षणपत्रमा समेत ब्याजदरमा कमी आउन सक्ने संभावनालाई नकार्न सकिँदैन।

बैंकहरूको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च ब्याजदर आदीका कारणले कर्जाको मागमा कमी, बैंकहरूले राष्ट्र बैंकबाट लिने रिपो र एसएलएफमा उल्लेख्य गिरावट, अन्तरबैंक ब्याजदरमा उल्लेख्य गिरावट आदीका कारणले आगामी पुस १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर राम्रै घट्ने देखिन्छ। वार्षिक १२.१३३ प्रतिशतमा निक्षेप लिएर अन्तरबैंक बजारमा वार्षिक ६.५ प्रतिशतको हाराहारीमा सापटी दिनुको कुनै अर्थ राख्दैन।(बैंकर क्षेत्रीको फेसबुकबाट साभार) 

चौथो प्रयासपछि टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरू Read Previous

चौथो प्रयासपछि टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरू

सनराइज बैंकले लाभांश नदिने Read Next

सनराइज बैंकले लाभांश नदिने