६ वर्षपछि ताक्सुगाड जलविद्युतको डीपीआर अन्तिम चरणमा

जाजरकोट । ताक्सुगाड जलविद्युत् आयोजनाको डीपीआर अन्तिम चरणमा पुगेको छ । डीपीआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए।

नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डीपीआर सन् २०१६ देखि सुरु भएको थियो । डीपीआरको जिम्मेवारी डिजायड कन्सलटेन्ट काठमाडौँले दुई वर्षमा सक्ने सम्झौताअनुसार लिएको थियो ।

सात वर्षसम्म डीपीआरको काम सम्पन्न नगर्दा आयोजना नै अन्योलमा परेका बेला अब चार महिनाभित्र काम पूरा गर्ने भन्दै डीपीआरको ड्राफ्ट आएको र अध्ययनको काम जारी रहेको अधिकृत पौडेलले बताए । आयोजनाले उक्त ड्राफ्ट अध्ययनपश्चात कन्सलटेन्टलाई दिएर चार महिनाभित्र अन्तिम रिपोर्ट बुझाउने बताएको छ ।

सुरुमा चार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भनिए पनि अहिले ७.१ मेगावाट विद्युत् उत्पादन हुने रिपोर्ट आएको आयोजनाका इञ्जिनीयर पदम थापाले बताए । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले ताक्सुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको थियो । नलगाडको अझैँ डीपीआर सकिएको छैन ।

भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ । तोकिएको समयमा डीपीआर सम्पन्न नगर्दा यहाँका स्थानीय आक्रोशित भएका छन् । कर्णाली प्रदेश सरकारले उक्त आयोजना निर्माण गर्नका लागि मागे पनि नलगाड जलविद्युत आयोजनाले प्रदेशलाई दिएको छैन । प्रदेश सरकारले उक्त आयोजनाका लागि बजेट नै विनियोजन गरेको छ ।

उता ३३ केभी प्रशारण लाइन अन्तर्गत ११ केभी प्रशारण लाइनको सव स्टेशन ताक्सुगाडकै किनारमा रहेको चौखामा निर्माण हुनगइरहेको छ । चौखामा निर्माण हुने उक्त सव स्टेशनले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत् आयोजनाका साथै डोल्पामा विद्युतीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।रासस

अदुवाको भाउ आधा घट्यो, माग नभएपछि बारीमै कुहिँदै Read Previous

अदुवाको भाउ आधा घट्यो, माग नभएपछि बारीमै कुहिँदै

नेपालमा एसेम्बल हुने सवारीसाधनको मापदण्ड तोक्दै यातायात विभाग Read Next

नेपालमा एसेम्बल हुने सवारीसाधनको मापदण्ड तोक्दै यातायात विभाग