काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा एसेम्बल हुने सवारीसाधनको गुणस्तर परीक्षण गर्न नयाँ मापदण्ड तयार गर्ने भएको छ । विभागले आगामी पुस महिना भित्रै नयाँ निर्देशिका तयार पारेर कार्यान्वयनमा ल्याउन लागेको हो ।
नेपालमा सवारीसाधनको एसेम्बल बढ्न थालेसँगै त्यसको सुरक्षा लगायतका मापदण्ड तोक्न नयाँ निर्देशिका बनाउन लागेको विभागका टेक्निकल डाइरेक्ट्रर रामचन्द्र पौडेलले जानकारी दिए ।
‘हामीले नयाँ निर्देशिका निर्माणको काम अन्तिम चरणमा गरिरहेका छौं । आगामी पुस भित्रै यसलाई कार्यान्वयनमा ल्याउने लक्ष्य दिएका छौं,’ निर्देशक पौडेलले मेरोअटोसँग भने ।
उनका अनुसार सुरूमा नेपालमा एसेम्बल हुने सवारीसाधन नियम, निरीक्षण र परीक्षण हुने छन् भने त्यसपछि आयात भएर आउने साधनलाई चेकजाँच गर्ने तयारी भइरहेको छ ।
अहिले यातायात व्यवस्था विभागसँग टेकुमा एउटा भेहिकल फिटनेश सेन्टर संचालनमा रहेको छ । यसलाई सुविधा सम्पन्न बनाउन चरणवद्ध तरिकाले काम गरिरहेको विभागले त्यसलाई परीक्षण ल्याबको रूपमा विकास गरिरहेको छ । यस बाहेक पनि सबै प्रदेशमा भेहिकल फिटनेस सेन्टर बनाउने काम अगाडि बढिरहेको विभागले जनाएको छ ।
साना ईभीको पनि मापदण्ड बन्ने
सरकारले परीक्षण गर्ने बलियो संरचना निर्माण गर्दा ईभीको नाममा असाध्यै कमसल खालका उत्पादन नेपाल आइरहेका छन् । अहिकांश व्यापारीले समेत गुणस्तरहीन साधन आयात भइरहेको बताइरहेको बेला विभागले ईभीको परीक्षण पनि नयाँ निर्देशिकामा रहेर गर्ने जनाएको छ ।
अहिले सहरी क्षेत्रको लागि उपयुक्त मानिएका राम्रा गाडीहरू पनि नेपाल आएका छन् भने गुणस्तर हिन साधन पनि आएको सुनिन्छ । यी सबै गाडीलाई नियमन गर्न नयाँ निर्देशिका आउनु पर्ने विभागका टेक्निकल डाइरेक्टर पौडेल बताउँछन् ।
‘विभागले निजी सवारीको रूपमा दर्ता भएका साधन हाइवे वा सहरीमा चलाउन भन्ने कानुनी व्यवस्था छैन । त्यसैले जस्तो सुकै गाडी किनेर मानिसले आफ्नै जोखिममा चलाइरहेका छन् । उत्पादकले नै यो गाडी कहाँ गुडाउने भनेर तोकेको हुन्छ । चलाउनेले पनि त्यही अनुसारको क्षेत्रमा चलाउनु पर्छ,’ पौडेलले भने ।
एसेम्बल बढेसँगै नियमन
दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको एसेम्बल लहरकै रूपमा बढिरहेको छ । अझ सरकारले भन्सारमा एकतहको अन्तर र ठूला साधनमा आयात नै रोक्ने निर्णय लिएसँगै विभिन्न कम्पनीले नेपालमा नै एसेम्बल गर्ने तयारी थालेका छन् ।
विभिन्न कम्पनीले इलेक्ट्रीक दुई पाङ्ग्रे र तीन पाङ्ग्रे साधन एसेम्बल सुरू गरेसँगै सुरक्षा चुनौती देखिएसँगै विभागले निर्देशिका नै बनाएर काम अगाडि बढाएको अनुमान गर्न सकिन्छ । साथै, भारत र जापानमा आधारित मोटरसाइकल कम्पनी र चार पाङ्ग्रे गाडीको समेत एसेम्बलमा काम भइरहेको छ ।
केही वर्षदेखि बजाजले नेपालमा दुई र तीन पाङ्ग्रे साधन एसेम्बल गरिरहेको छ छने टीभीएसले अघिल्लो वर्षबाट सुरू गरेको छ । त्यसैगरी, यामाहा, हिरो, सुजुकी, रोयल इनफिल्ड, होन्डा जस्ता ब्राण्डले पनि एसेम्बल यूनिट निर्माण गरिरहेका छन् । बजारमा एसेम्बल गर्ने कम्पनीको वृद्धिसँगै यातायात व्यवस्था विभागले नियमसँग सम्बन्धीत निर्देशिका बनाउन लागेको हो ।