डुम्रे । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा विक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै विक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउँछन् । ‘अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा विक्री गर्न थालेका छौँ,’ उनले भने ।
गत वर्ष अदुवाको माग नभएपछि विक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको उनी बताउँछन् । ‘बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका छौँ । विगत दुई वर्षदेखि धार्नीको रु २०० देखि रु २५० सम्ममा विक्री गर्दै आएका थियौँ । यसपटक बढ्नुपर्ने बेलामा झन् घटेर बेच्न बाध्य छौँ । यस वर्ष धार्नीको रु एक सयमा बेच्दैछौँ,’ उनले भने, ‘लगानी नै उठ्दैन यसपटक ।’
बीउबिजन महँगो मूल्यमा किन्नुपर्ने र विक्री कम मूल्यमा गर्दा किसान मर्कामा परेका कृषक राना बताउँछन् । मुख्यतः अदुवाको खपत भारतीय बजारमा हुने र भारतबाट माग नआएपछि अदुवा विक्रीमा समस्या भएको उनको भनाइ छ । ‘अदुवा बारीमै कुहिने, सुक्ने भएपछि निकाल्न थालिएको छ । अलि बढी पानी भएमा पनि कुहिने समस्या आउँछ,’ उनले भने
कृषक रानाले वार्षिकरूपमा ७०० धार्नी अदुवा उत्पादन गर्छन् । यसपटक अलि कुहिएकाले छिटो निकालिएको उनी बताउँछन् । यस क्षेत्र अदुवा पकेट क्षेत्र हो । उक्त क्षेत्रका प्रत्येक किसानले १०० देखि ९०० धार्नीसम्म अदुवा उत्पादन गर्ने गरेका उनले बताए । रजिडाँडाका मात्रै २५ घरधुरीले अदुवा उत्पादन गर्दै आएका छन् ।
सो स्थानका कृषकले समूह बनाएर अदुवा खेती गर्दै आएका छन् । गत वर्ष उत्पादन गरिएको बीउ शुक्लागण्डकी नगरपालिकाका लागि अदुवाको बीउ निर्यात गरिएको उनी बताउँछन् । विक्री नभएका अदुवाको सुठो बनाएर विक्रीका लागि बजारमा पठाइने कृषक रानाले बताए । माघ र फागुनसम्म अदुवा निकाल्न मिल्ने र चैतमा बीउ रोपण गर्ने समय हो ।
भिमाद साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण खनालले अदुवा प्रशोधन विक्रीका लागि बजार खोजी गर्ने गरेको बताए । गत वर्ष करिब २८ मेट्रिक टन बुटवलको प्रशोधन केन्द्रमा प्रशोधन गरी विक्रीका लागि तयार रहेको उनी बताउँछन् । गत वर्ष प्रतिकेजी रु ४० मा खरिद गरी प्रशोधन केन्द्रमा लगिएको उनले जानकारी दिए ।
यस वर्ष प्रतिकेजी रु २८ मा खरिद गर्ने बताउँदै आएको उनी बताउँछन् । ‘नेपालमा आफैँले उत्पादन गर्ने प्रचलन छ । निर्वाहमुखी खेतीले पुग्छ र किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै विक्री हुने हो । कम अदुवा विक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो,’ अध्यक्ष खनालले भने, ‘केही भने यहीको बजारमा खपत हुन्छ ।’
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले कृषकले उत्पादन गरेको वस्तुको बजार सिर्जना गर्ने कार्यमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताए । तीन तहको सरकारले बजारको व्यवस्थापन गर्न भूमिका खेलेमा कृषि प्रधान देशको भनाइलाई सार्थक बनाउन सकिने उनले बताए ।
‘विश्वमा पूर्णरूपमा आयातित वस्तु उपभोग गर्ने देश छन् । ती देशसँग समन्वय, सहकार्य गरी व्यापारिक सम्बन्ध कायम गरी देशको आर्थिक समृद्धिलाई प्रमुख बनाउने भूमिकामा देशका मुख्य–मुख्य राजनीतिक दल र तीन तहको सरकारले समन्वय गर्न सके छिटो समृद्ध नेपाल बनाउन सहयोग पुग्नेछ,’ उनले भने ।
कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेशाबाट कृषक विमुख भएको पाइन्छ । यस पेशामा युवालाई टिकाउने र स्वदेशमा नै उत्पादन वृद्धि गरी आयातभन्दा निर्यातलाई प्रोत्साहन गर्न सरकारले नै कदम चाल्नुपर्ने अवस्था रहेको छ ।
अदुवा उत्पादन वृद्धि
अदुवाको बजार मूल्य र बजार पाउन समस्या भए पनि तनहुँमा अदुवा उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
उत्पादनको क्षेत्रफल घट्दो छ । अदुवाको बजार पाउन समस्या भएको छ । तर उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारीले बताए। उनका अनुसार तनहुँमा आर्थिक वर्ष २०७७/७८ मा ५१२ हेक्टर क्षेत्रफलमा ७ हजार ५४० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा ५१७ हेक्टर क्षेत्रफलमा ७ हजार ४२२ मेट्रिक टन अदुवा उत्पादन भएको तिवारीले जानकारी दिए । कृषिमा लगानी वृद्धि गरी इलेक्टिक प्रशोधन गरी विक्रीका लागि अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न सके कृषकको आकर्षण बढ्ने उनको भनाइ छ ।
प्रतिकेजी रु ६० का दरले विक्री गर्दा तनहुँबाट रु ४५ करोडको अदुवा विक्री वितरण हुने गरेको उनले बताए । किसानले रु १०० मा धार्नी बेच्नुपर्ने परिस्थितिले भने कम हुने उनको भनाइ छ ।रासस