अब प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई १ लाख जरिवाना गरिने

काठमाडौं । सरकारको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई १ लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले त्यस्ता सवारी साधनलाई आगामी पुस १ गतेदेखि वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम जरिवाना हुने स्पष्ट पारेको हो ।

हाल सवारी साधनमा धुँवा परीक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारी साधनलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको छ ।

विभागले आज एक सूचनामार्फत पुस १ गतेपछि भने विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई जरिवाना हुने जनाएको छ । विभागले सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाइ जाँचपास गराएर मात्र सार्वजनिकस्थानमा सञ्चालनमा ल्याउन अनुरोध गरेको छ ।

विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार जुनसुकै समयमा विभागबाट छड्के जाँच हुनसक्ने र प्रदूषण जाँचपासको रुपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचपास अनुत्तीर्ण हुने सवारी साधनलाई जरिवानालगायतका कारबाही हुनेछ ।

हिउँदको मौसममा काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रदै गएको छ । वायु प्रदूषणका मुख्य कारकमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहर जलाउँदा निस्कने धुँवा प्रमुख कारण हुन् । वातावरण विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनको धुँवा निष्कासनको अवस्था अत्यन्त दयनीय पाइएकाले उक्त सूचना जारी गरिएको हो ।

आगामी दिनमा विभागले सवारी साधनको धुँवा निष्कासनको अवस्थाको परीक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्ने जनाएको छ । साथै आफ्नो टोल छरछिमेकमा खुला रूपमा कोही कसैले फोहर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी विभागमा गराउनसमेत अनुरोध गरिएको छ । यस्तो जानकारी दिनेको परिचय गोप्य राखि दोषीमाथि नियमानुसारको कारबाही हुने सूचनामा उल्लेख छ ।

२६ चालकको लाइसेन्स खारेज गर्न पठाइयो, एक जनाले ३८ पटकसम्म नियम तोडे Read Previous

२६ चालकको लाइसेन्स खारेज गर्न पठाइयो, एक जनाले ३८ पटकसम्म नियम तोडे

सानिमा बैंकले मनायो रक्तदान गरेर १८ औं वार्षिकउत्सव Read Next

सानिमा बैंकले मनायो रक्तदान गरेर १८ औं वार्षिकउत्सव