नागढुंगा-नौबिसे सुरुङमार्गको ३६५८ मिटर सुरुङ खनियो, अब कति बाँकी छ ?

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम दुई तिहाई बढी सम्पन्न भएको छ ।

नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार मंसिर २१ गतेसम्म सुरुङ खन्ने काम ७०.२० प्रतिशत पूरा भएको छ । कुल ५ हजार २४५ मिटर सुरुङ (मुख्य र स्केप टनेल गरी) मध्ये हालसम्म ३ हजार ६५८.१० मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ७१० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ८३२.२० मिटर र धादिङतर्फ ८७८.८० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म १ हजार ९४८.१० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार ४५.६० मिटर र धादिङतर्फ ९०२.५० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म ३ हजार ६५८.१० मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ३ हजार ८५९.३० मिटरको काम सम्पन्न भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४६.२६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ६३९.७ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

कोभिडकालमा समेत निरन्तर काम भए पनि आयोजना समयमै नसकिने भएको छ । ठेक्का अवधि आगामी जेठसम्म रहे पनि सो समग्रमा अझै आधा बढी काम बाँकी छ ।

तोकिएको समयमै स्थानीय तहले गरेनन् जग्गाको वर्गीकरण, तत्काल कित्ताकाट नखुल्ने Read Previous

तोकिएको समयमै स्थानीय तहले गरेनन् जग्गाको वर्गीकरण, तत्काल कित्ताकाट नखुल्ने

२६ चालकको लाइसेन्स खारेज गर्न पठाइयो, एक जनाले ३८ पटकसम्म नियम तोडे Read Next

२६ चालकको लाइसेन्स खारेज गर्न पठाइयो, एक जनाले ३८ पटकसम्म नियम तोडे