अघि बढ्यो भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण प्रक्रिया, पुस भित्रै ठेक्का सम्झौता

सांकेतिक तस्वीर

चितवन । चितवनको भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो ।

यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ ।

ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उनको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम रु २ अर्बको हाराहारी रहेको भन्दै उनले एकीन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताए । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ ।

अत्याधुनिक किसिमको ७ हजार ७४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।

नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ । नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिए । उनले भने ‘विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।’

हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले कम यात्रु मात्रै बोक्ने गरेका छन् । धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन् ।

भरतपुर महानगरपालिकाले यो विमानस्थललाई विस्तार गर्न पटक–पटक महानगरपालिकामै छलफल गरिसकेको छ ।महानगर प्रमुख रेनु दाहालले प्राधिकरण र नेपाली सेना सकारात्मक रहेकाले विमानस्थल विस्तारको काम हुनेमा आफू ढुक्क रहेको बताइन्एर। नेपाली सेनालाई वैकल्पिक ठाउँको व्यवस्था महानगरले गर्नका लागि विभिन्न ठाउँ प्रस्तावसमेत गरिसकेको छ ।

छोटो धावन मार्ग र वरिपरि घर भएकाले दुर्घटना हुन नपाओस् भन्नका लागि धावनमार्ग विस्तार गर्न सरोकारवालाले निरन्तर दबाब दिँदै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ । हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन् । सन् २०२१ मा यहाँबाट आवतजावत गर्नेको सङ्ख्या ११ लाख ७६ हजार थियो ।

अघि बढ्यो पाँचखाल सेज निर्माण, रुख कटान सुरू Read Previous

अघि बढ्यो पाँचखाल सेज निर्माण, रुख कटान सुरू

तोकिएको समयमै स्थानीय तहले गरेनन् जग्गाको वर्गीकरण, तत्काल कित्ताकाट नखुल्ने Read Next

तोकिएको समयमै स्थानीय तहले गरेनन् जग्गाको वर्गीकरण, तत्काल कित्ताकाट नखुल्ने