अघि बढ्यो पाँचखाल सेज निर्माण, रुख कटान सुरू

काठमाडौं । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) निर्माण प्रक्रिया अघि बढेको छ । ५० हेक्टर क्षेत्रफलमा निर्माण हुने पाँचखाल सेजका लागि रुख कटान सुरू गरिएको हो ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत भई सेज निर्माणका लागि रुख कटान सुरू गरिएको विशेष आर्थिक क्षेत्र (सेज)का प्रमुख कार्यकारी प्रमुख चन्डिकाप्रसाद भट्टले जानकारी दिए ।

पाँचखाल सेज निर्माणका लागि १ हजार रोपनी क्षेत्रफलमा रहेको १७ हजार रुख कटान सुरू गरिएको उनले बताए । वन विभागसँगको सम्पन्न गरी हाल रुअमा काँटा (चिह्न)लगाउने काम भइरहेको उनले बताए ।

‘अहिले सेजका लागि रुख कटान प्रक्रिया सुरू गरेका छौं, १७ हजार रुख कटान गरिन्छ । रुख कटान सकिएको अर्को वर्षसम्म निर्माण सकेर उद्योगका लागि आह्वान गर्नेछौँ,’ भट्टले चाणक्य पोष्टसँग भने ।

रुख कटानको काम चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको उनले बताए । हाल उक्त सेजभित्र आवश्यक भवन निर्माण, बोरिङ, र वाल लगाउने काम भइरहेको छ ।

उक्त सेजमा ६९ प्लट निर्माण गर्ने गरि डिजाइन निर्माण गरिएको छ । हालसम्म यस सेज निर्माणका क्रममा २० करोड रुपैयाँ हाराहारी खर्च भइसकेको उनले जानकारी दिए । बिल्डिङ निर्माणका लागि मात्र १२ करोड रुपैयाँ खर्च भएको उनले बताए । सेज निर्माणका लागि २ वटा ठेक्कामा काम भइरहेको छ ।

सेज निर्माणका लागि सुरूमा १ अर्ब ५६ करोड रुपैयाँ लगानी अनुमान गरिएपनि ढिला भएसँगै वर्षेनी निर्माण लागत बढ्दै गइरहेको छ । ५० हेक्टर क्षेत्रफलमा ३ वर्षभित्र निर्माण सक्ने गरी सुरू भएको सेज निर्माण वनका कारण अघि बढ्न नसकेको उनले बताए ।पाँचखाल सेजका लागि जग्गा प्राप्तीको काम २०६८ सालमै सुरू गरिएको थियो ।

सेजको भाडा घटाउने तयारी

सेजमा उद्योगीहरूको आकर्षण नदेखिएपछि सरकारले भाडा घटाउने तयारी गरेको छ ।उद्योग मन्त्रालयले हालको भाडादरमा ५० प्रतिशत घटाउने प्रस्ताव गरेको हो ।

हाल सेज क्षेत्रभित्र प्रतिस्वायर मिटर २० रुपैयाँ प्रतिमहिना भाडा दर तोकिएको छ ।उक्त भाडादर आधाले घटाइ प्रतिवर्गामिटर १० रुपैयाँ गर्न मन्त्रालयले प्रस्ताव गरेको हो । व्यवसायीले सेजको भाडादर महँगो भएको भन्दै घटाउन माग गर्दै आएका छन् ।

निर्माण भएको लामो समयमा समेत उद्योगहरू सेजमा आउन आनाकानी गर्ने गरेका छन् । यसको मुख्य कारण सेजको वानडोर पोलीस हट्नु रहेको सेजका एक कर्मचारीले बताए ।

उनका अनुसार २०७३ मा सेजमै उद्योग दर्ताको अधिकार रहेको थियो । २०७६ मा त्यो अधिकार खारेज गरिएको थियो । जसका कारण सेजमा आउन चाहाने उद्योगले उद्योग विभागमा उद्योग दर्ता गराएर, रजिष्टारबाट स्विकृत लिएपछि मात्र उद्योग सञ्चालन गर्न पाउने छन् ।

उद्योग दर्ताका क्रममा नक्साको धेरै समस्या आउने गरेको उनले बताए । उनका अनुसार सरकारी जमिनको कुनै लालपुर्जा नहुने हुँदा उद्योग दर्ता गर्दा लालपुर्जा समेत चाहिने भएकाले धेरै झन्झटिलो भएको हो ।

यस्तै हरेक उद्योगले सेजमा आउनका लागि नयाँ उद्योग दर्ता गरी सबै उपकरण नयाँ नै ल्याउनु पर्ने प्रविधिले समेत उद्योगीहरू सहजै सेजमा आउन नचाहेको हुन सक्ने उनले बताए ।

सेजमा आउने हरेक उद्योगले आफ्नो उत्पादनको ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्छ । निर्यात अनिवार्य हुनुका कारण समेत उद्योगीहरू सेजमा आउन अनइच्छुक छन् ।

 

तारा एयरको जहाजमा चरा ठोक्कियो Read Previous

तारा एयरको जहाजमा चरा ठोक्कियो

अघि बढ्यो भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण प्रक्रिया, पुस भित्रै ठेक्का सम्झौता Read Next

अघि बढ्यो भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण प्रक्रिया, पुस भित्रै ठेक्का सम्झौता