काठमाडौं । वाणिज्य बैंकहरूले नियम विपरीत असुलेको प्रिमियम तथा ब्याज किस्ताकिस्तामा फिर्ता गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकको निर्देशनसँगै मापदण्ड विपरीत असुलेको प्रिमियम रकम फिर्ता फिर्ता गर्न थालेका हुन् ।
बैंकहरूले गत आर्थिक वर्षका नियम विपरीत करिब साढे ३ अर्ब रुपैयाँ ब्याज असुल गरेका थिए । गत आर्थिक वर्षमा कर्जा सम्झौता विपरीत प्रिमियम बढाएर असुलेको रकम फिर्ता भने एक/दुई महिनाको ब्याजको हिसाबले दिइरहेको ऋणीहरूले बताइरहेका छन् ।
‘वर्षभरीमा मनलाग्दी बढाएको ब्याज बैंकले अहिलेसम्म पूरै फिर्ता गरेको छैन्’ एक ऋणीले भने, ‘राष्ट्र बैंकले फिर्ता गर्न लगाएको भन्ने सुनिन्छ, तर दुई महिनाको भन्दा बढी ब्याज कटाएको छैन ।’ डेढ वर्षअघि ९ प्रतिशत ब्याजदरमा कर्जा सम्झौता गरेका उनले अहिले १८ प्रतिशत तिर्नुपर्दा बैंकको ब्याजले डुबाएको उनले सुनाए ।
राष्ट्र बैंकले गत साता बैंक तथा वित्तीय संस्थाहरूलाई फिर्ता गरेको ब्याजको विवरण पठाउन निर्देशन दिएको छ । गत वर्षमात्र बैंकहरूले साढे तीन अर्ब बढी रकम मापदण्ड विपरीत ब्याजदर बढाएर असुल गरेको राष्ट्र बैंक सुपरीवेक्षण विभागका अधिकारीहरू बताउँछन् ।
ऋणीसँगको सम्झौता विपरीत ब्याजदर बढाएको पाएपछि राष्ट्र बैंकले बैंकहरूको गत आर्थिक वर्षको वित्तीय विवरण समेत स्वीकृतिमा ढिलाइ गरेको थियो । संस्थाहरूले ब्याजदर फिर्ता गर्ने सर्तमा विवरण स्वीकृति गरेको राष्ट्र बैंकका अधिकारीले बताए ।
बैंक सुपरीवेक्षण विभाग प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकाल बैंकहरूलाई रकम फिर्ता गर्न निर्देशन दिइसकेको बताउँछन् । ‘राष्ट्र बैंकले अतिरिक्त प्रिमियम लिएका बैंकहरूलाई रकम फिर्ता गर्न निर्देशन दिइसकेको छ । कतिपय संस्थाहरूले फिर्ता गरिरहेका छन् । केहीले अब गर्छन,’ उनले भने, ‘ढिलोमा माघ मसान्त भित्र रकम फिर्ता गरिसक्नुपर्छ भन्ने हो ।’
कर्जा सम्झौता गरेपछि प्रिमियम बढाउन नपाउने व्यवस्था छ । तर, बैंकहरूले उक्त नियमको उल्लंघन गर्दै ऋणीबाट थप ब्याज असुलेका थिए । जसको कारण बैंकको मनलाग्दी ब्याजदर वृद्धिले ऋणीहरू झनै समस्यामा परेको बताइरहेका छन् ।
अरु क्षेत्र संकटमा, बैंकको मात्र नाफा कसरी बढ्यो ?
अर्थतन्त्रका सबै क्षेत्र सिथिल भएको अवस्थामा बैंकहरूले मात्र नाफा कमाएको भन्दै उद्योगी व्यवसायीहरूले हालसम्म प्रश्न गरिरहेका छन् । गत वर्ष वित्तीय प्र्रणालीमा तरलता अभावका बाबजूद बैंकहरूले खुद नाफा २३ प्रतिशतले बढाएर ७४ अर्ब ४७ करोड कमाएका थिए ।
मापदण्ड विपरीत प्रिमियम बढाएर ब्याज आम्दानीमा भएको वृद्धि तथा धितो लिलामीले संकटोन्मुख आर्थिक अवस्थाका बाबजूद नाफा बढेको व्यवसायीको आरोप छ । बैंकहरूले चालु आवमा पनि ६ प्रतिशतले बढाएर १८ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको दोस्रो त्रैमासदेखि प्रणालीमा तरलता अभावले ब्याजदर निरन्तर उकालो लागिरहेको छ ।
बैंकहरूले हरेक दुई महिनामा निक्षेपको ब्याजदर बढाउँदा लागत बढेर कर्जाको ब्याजदर सोही रफ्तारमा उकालो लागेको छ । पहिलो त्रैमासमै बैंकको आधारदर १२ प्रतिशतसम्म पुगेको छ भने प्रिमियम ६ प्रतिशत जोड्दा १८ प्रतिशत कर्जाको ब्याजदर पुगेको छ ।
निक्षेपमै १५ प्रतिशत ब्याज दिइरहेका बैंकहरूसँग नाफा कायम राख्ने चुनौती भने छ । मागमा आएको संकुचनले अहिले संस्थाहरूले कर्जा लगानी गर्न सकेका छैनन् । महंगो ब्याजदरका कारण व्यसायीहरूले कर्जा माग गरिरहेका छैनन । ब्याजदर वृद्धिको भार ऋणी माथि परेको छ ।