काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबार २४ अंकले घटेको नेप्से आज ४ अंकले घटेको हो ।
सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७१ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ ।
मंगलबार नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा आइपुगेको छ । यसदिन २३८ कम्पनीको ९६ करोड ५२ लाख रुपैयाँ बढीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा, अन्य र लघुवित्त समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै ०.९८ प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी साढे ५ करोड र रिडी पावर ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज एनएमबी बैंकका सेयरधनीले सर्वाधिक ६.०७ प्रतिशत गुमाएका छन् । त्यस्तै, आइसीएफसी डिबेन्चर २०८३, एनएम्बी हाइब्रीड फण्ड १, एनएमबी ५० र एनआइसी एसिया सेलेक्ट फण्डका धनीले ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।