काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण यही सातादेखि सुरू हुने भएको छ । निर्माणको ठेक्का पाएको एम/एस आशिष-समानान्तर जेभीले शुक्रबारदेखि फिल्डमा काम सुरु गर्ने भएको हो ।
फिल्डमा काम सुरु हुने भएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर २३ गतेदेखि काम सम्पन्न नहुन्जेलसम्मका लागि सवारी लेन तोकेको छ ।
कार्यालयका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ ।
कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६०० मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्टट्रयाकबाट संचालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
आशिष-समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको छ ।
फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । सम्झौता अनुसार कम्पनीले ४ महिनामा डिजाइन् र २० महिनामा निर्माण गरी २ वर्षमा काम सम्पन्न गरिसक्नुपर्ने छ ।
उक्त फ्लाइओभर ४५५ मिटर लामो हुनेछ ।
