काठमाडौं । पेट्रोलमा प्रतिलिटर १३.९५ रुपैयाँ नाफा भए पनि नेपाल आयल निगमले तत्काल भाउ नघटाउने भएको छ । अहिले नाफा भए पनि विगतमा धेरै नोक्सानी भएको भन्दै निगमले मूल्य नघटाउने भएको हो ।
निगमले एक सूचना जारी गर्दै इन्डियन आयल कर्पोरेशनको बक्यौता र नेपाल सरकारलाई गरी २७ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै भाउ नघटाउने जानकारी गराएको छ ।
मंसिर १६ गते आइओसीबाट प्राप्त नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा उच्च नाफा रहेको छ ।
निगमलाई पेट्रोलमा प्रतिलिटर १३.९५ रुपैयाँ, मटितेलमा ३४.५४ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ३५.९९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ८७.३० रुपैयाँ नाफा छ । यी वस्तुमा उच्च नाफा रहे पनि सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन गर्न नसकिने निगमले जनाएको छ ।
नयाँ मूल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर लागत १६७.०५ रुपैयाँ छ भने विक्री मूल्य १८१ रुपैयाँ रहेको छ । आगामी १५ दिनमा पेट्रोमा मात्रै ४२ करोड नाफा हुनेछ । त्यस्तै, आन्तरिक हवाई इन्धन विक्रीबाट ११ करोड र अन्तर्राष्ट्रियतर्फ ४७ करोड नाफा हुनेछ ।
निमगलाई डिजेल र खाना पकाउने ग्यासमा भने नोक्सानी रहेको छ । डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर २२८.८४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
२० महिनादेखि लगातार घाटामा रहेको निगम गत भदौदेखि नाफामा जान थालेको छ । आगामी १५ दिनमा समग्रमा ३७ करोड ४२ लाख नाफा हुने निगमको भनाइ छ ।