त्रिशूली जलविद्युतको आइपीओको पैसा बुझाउने समय थप, नबुझाए सेयर जफत हुने

काठमाडौं । माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयर बापतको बाँकी रकम बुझाउने समय थप भएको छ ।

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको बनाइरहेको कम्पनीले यसअघि प्रतिकित्ता १० रुपैयाँमा अग्रिम जारी गरेको आइपीओको बाँकी रकम बुझाउने समय फागुन १७ गतेसम्म थप गरेकाे हो ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर १०० रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । सेयरधनीले ९० रुपैयाँ बुझाउन बाँकी थियो ।

यसअघि बाँकी रकम बुझाउने समय असोज ४ देखि कात्तिक १७ गतेसम्म तोकिएको थियो । सो समयमा सबै सेयरधनीले रकम जम्मा नगरेकाले कम्पनीले पुनः ३ महिना थप गरेको हो ।

कम्पनीले सेयरधनीले ९० रुपैयाँ बुझाउनु पर्ने भए पनि कम्पनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज दिएकाले प्रतिकित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने व्यवस्था गरेको थियो । अब भने ब्याज रकमसहित प्रतिकित्ता ८८.७४ रुपैयाँ बुझाउनुपर्ने छ ।

थपिएकाे अवधिसम्ममा रकम नबुझाउने साविक सेयरधनीहरुको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको शेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सयर कायम गरी सयरधनीहरुको नाममा रहेको बाँकी सयर जफत गरिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सीडीएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउनरआवेदन दिन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निश्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो । तर, नयाँवर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका वन्द हुँदा चीनबाट निर्माण सामाग्री तथा उपकरण ल्याउन नसकिएकोले पूर्ण रुपमा भइरहेको आयोजना निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो ।

साथै, मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी, लिमिटेड सुइफा आने ग्रुप कम्पनीले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका सुफिया एएनएचइ ग्रुप चाइनासँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्ने छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर)लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।

समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।

उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

पर्यटकीय सिजनमा कस्तो छ होटलको अकुपेन्सी ? Read Previous

पर्यटकीय सिजनमा कस्तो छ होटलको अकुपेन्सी ?

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?