पर्यटकीय सिजनमा कस्तो छ होटलको अकुपेन्सी ?

काठमाडौं । सिजन सुरू भएसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटकको आवगमन क्रमशः बढ्दा र बिहे, ब्रतबन्धको सिजन सुरू भएकाले पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढ्न थालेको हो ।

पर्यटकीय गतिविधि बढेसँगै होटल व्यवसायको व्यापारमा केही सुधार आउन थालेको छ । यद्यपि, मुख्य पर्यटकीय स्थानका होटल र काठमाडौंका पाँचतारे होटकको व्यापार सन्तोषजनक रहे पनि अन्य स्थानको होटलको व्यापार सुस्त नै रहेको व्यवसायीहरू बताउँछन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार पछिल्लो ११ महिनामा साढे ५ लाख बढी विदेशी पर्यटकहरू नेपाल आएका छन । सफा मौसम, धार्मिक गतिविधि र सुन्दर हिमालका दृश्यहरू देख्न सकिने भएकाले यो समयलाई पर्यटकीय सिजनको रूपमा लिइन्छ ।

दशैं, तिहार जस्ता चार्ड पर्व र भर्खरै स्थानीय चुनावले पनि मानिसको आवतजावत र आर्थिक गतिविधि बढाएको थियो । त्यससँगै मंसिर लागेयता विवाहको सिजन भएकाले पार्टी प्यालेस लगायत रेष्टूरेन्टहरूले बिजनेश पाएका छन ।

नेपाल होटल व्यवसायी महासंघका उपाध्यक्ष दिनेशकुमार चुले कोभिडपछि ठप्प भएको होटल तथा पर्यटन व्यवसायमा सुधार आएको बताउँछन् ।

‘कोभिडपछि पनि विभिन्न कारणहरूले ठप्प बनेको होटल तथा पर्यटन व्यवसाय दशैंयता पीकअप भइरहेको छ,’ उनले भने, ‘विवाह, ब्रतबन्धको सिजन भएकाले सामान्य रेष्टूरेन्ट देखि ठूला होटलहरूले कारोबार पाइरहेका छन ।’

अहिलेको आर्थिक अवस्थाले कारोबारमा उत्साह नदेखिएको उनले बताए । ‘मानिसहरूसँग पैसा नै छैन भन्ने छ । जसको कारण त्यत्ति धेरै रिकभर भएको छ जस्तो लाग्दैन ।’

ट्रेकिङ र होमस्टेको कारोबार बढेको भएपनि अन्य पर्यटकीय गतिविधिमा भने संकुचन आएको बताउँछन् उनी । व्यवसायीहरूका अनुसार कोभिड अघिको अवस्थामा होटल व्यवसाय औषतमा ५० देखि ६० प्रतिशतको हाराहारीमा चल्ने गरेका थिए ।सन् २०२० को सुरूआतमा फैलिएको कोभिडका कारण दुई वर्ष पर्यटन तथा होटल व्यवसाय ठप्पप्रायः भएको थियो ।

मुख्य क्षेत्रमा फूल, अन्यत्र छैन अकुपेन्सी

मूल्यवृद्धि र आन्तरिक उपभोक्ताका क्रयशक्ति कमजोर हुँदा सबै क्षेत्रमा पर्यटकहरू बढ्न सकेका छैनन् । जसको कारण विशेष गन्तव्य बाहिरका व्यवसायीहरूले कारोबार बढाउन सकेका छैनन् ।

विदेशी पर्यटकहरूको पहूँचमा हुने सहरका मुख्य होटल तथा रेष्टुरेन्टहरू भरिभराउ भए पनि अन्यत्र भने अकुपेन्सी अभाव रहेको व्यवसायीहरूको भनाइ छ । जसको कारण कोभिड महामारीले सिथिल भएको होटल तथा पर्यटन व्यवसाय हालसम्म लयमा फर्किन सकेको छैन ।

आन्तरिक मानिसहरूको चहलपहल र आर्थिक गतिविधि खुम्चिएसँगै साना तथा मझौला होटल र पर्यटन व्यवसाय पूर्ण क्षमतामा चल्न सकेका छैनन् । व्यवसायीहरूका अनुसार केही ठूला होटल बाहेक अधिकांश व्यवसायीहरूले क्षमता अनुसार अकुपेन्सी पाउन सकेका छैनन्

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अर्फ कमर्स लगायत संस्थाहरूले मागमा संकूचन आउँदा आर्थिक गतिविधि र व्यवसाय नै संकटमा परेको बताइरहेका छन् ।

उद्योग वाणिज्य महासंघका अनुसार ठूला होटलको कारोबारमा सुधार देखिएपनि देशैभरका होटलहरूमा औषत ३० देखि ४० प्रतिशत मात्र अकुपेन्सी छ । रेष्टूरेन्टमा २० प्रतिशत बढीले ग्रहाकको संख्या घटेको छ ।

सहुलियत नीतिले उकास्न सकेन साना व्यवसाय

सरकारले विभिन्न नीतिगत उपकरणहरू मार्फत साना तथा मझौला होटल तथा पर्यटन गायत अन्य व्यवसायहरूलाई उकास्न सहुलियतपूर्ण कर्जा दिएको थियो । वास्तविक समस्यामा परेका व्यवसायीहरूले सहुलियत कर्जा नपाउने र पहुँचवालाले यस्तो कर्जा लिएर अन्यत्रै लगानी गर्दा थप मारमा प्रभावित व्यवसायहरूमा परेको व्यवसायीहरू बताउँछन् ।

जसको कारण प्रभावित भएका व्यवसायहरू हालसम्म पूर्ण रूपमा रिकभर हुन सकेका छैनन् । पछिल्लो समय भने नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यस्ता सहुलियत सुविधाहरू कटौती गरेको छ ।ब्याजदर वृद्धिले आफूहरू समस्यामा परेको भन्दै होटल व्यवसायीहरूले राष्ट्र बैंक समक्ष घटाउन माग गर्दै आएका छन ।

 

 

सन् २०२२ मा नेपालको रेमिट्यान्स बढ्ने, साढे ८ अर्ब डलर भित्रिने Read Previous

सन् २०२२ मा नेपालको रेमिट्यान्स बढ्ने, साढे ८ अर्ब डलर भित्रिने

त्रिशूली जलविद्युतको आइपीओको पैसा बुझाउने समय थप, नबुझाए सेयर जफत हुने Read Next

त्रिशूली जलविद्युतको आइपीओको पैसा बुझाउने समय थप, नबुझाए सेयर जफत हुने