पोखरा-तराईको दूरी २३ किमी छोट्याउने पुल निर्माण सुस्त, ८ वर्षमा ४०% मात्र काम पूरा

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको ८ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।

पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ ।

निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर विकेश लागेले बताए । उनले पुल निर्माणका लागि चारपटकसम्म म्याद थप गरिसकिएको जानकारी दिए ।

पुल निर्माणको जिम्मा हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको हो । पछिल्लोपटक थपिएको अन्तिम म्याद २०८० असार मसान्तसम्म छ । पछिल्लो सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखिने इञ्जीनियर लागेले बताए ।

उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ ।

अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म आइपुग्न सक्दैनन् । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ ।

१०५ मिटरको आर्क डिजाइनको उक्त पुल भ्याटसहित रु ९ करोडको लागतमा निर्माण गर्न लागिएको हो । पुल निर्माणपश्चात नारायणगढबाट दमौली जान हाल सञ्चालन भइरहेको नारायणगढ-मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।रासस

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा दोब्बर बढ्यो Read Previous

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा दोब्बर बढ्यो

सुकुम्बासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन Read Next

सुकुम्बासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन