काठमाडौं । नेपालमा विदेशी दाताबाट प्राप्त हुने अनुदान र ऋण सहायता घट्दो क्रममा छ । कोभिड, विश्वव्यापी आर्थिक संकुचन, नेपालको गिर्दो छवि लगायत कारणले वैदेशिक सहयता घट्दो क्रममा रहेको हो ।
सरकारले हरेक वर्ष बजेटमा अर्बौं रुपैयाँ विदेशी सहायता प्राप्त गर्ने लक्ष्य राखे पनि आधा पनि प्राप्ति गर्न नसकेको तथ्यांक छ । पछिल्लो ५ वर्षको तथ्यांक अनुसार कुनै पनि वर्ष सरकारले लक्ष्य अनुसारको वैदेशिक अनुदान तथा ऋण प्राप्त गर्न सकेको छैन ।
विदेशी दाताले दिन्छु भनेर सम्झौता गरेकै ऋण तथा अनुदान समेत प्राप्त हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयले तयार पारेको गत आर्थिक वर्ष २०७८/७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणानुसार विभिन्न दातृ निकायबाट रु ३६ अर्ब ९० करोड २२ लाख ५७ हजार ४५४ शोधभर्ना हुन बाँकी रहेको देखिएको हो ।
एकातिर सरकारले वर्षेनी बजेटमा वैदेशिक सहायतको हिस्सा बढाउँदै लगेको छ भने अर्कोतिर प्राप्त हुने क्रम घट्दो छ । जसले विकासका आयोजनाहरू रकम अभावले प्रभावित हुन थालेका छन् ।
राजस्वले सरकारको चालु खर्च समेत धान्न नसक्ने अवस्थामा वैदेशिक सहायता पनि लक्ष्य अनुसार प्राप्त नहुँदा अर्थतन्त्रमै नकारात्मक असर पर्ने जानकारहरू बताउँछन् ।
पूर्वअर्थसचिव रामेश्वर खनाल वैदेशिक अनुदान घट्नुको कारण नेपालप्रतिको दातृ निकायको चासो घट्नु, कोभिड र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको परिस्थिति भएको बताउँछन् ।
‘अनुदान मात्र नभएर नेपाललाइ आउने रकम पनि घट्दै गएको छ । कोभीड र युद्धले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभावका कारण विकसित देशहरूको आम्दानी पनि घटेको छ,’ उनले भने, ‘दातृ निकायबाट प्राप्त रकम नेपालले समयमै खर्च गर्न सक्दैन् । बेलाबेलामा उनीहरूले नै खर्च गर्न ताकेता गरेको पाइन्छ । नेपाल प्रतिको चासो पनि घट्दै जानु हो ।’
वैदेशिक अनुदान मात्र नभएर हामीले प्राप्त गर्ने पछिल्लो तथ्यांक हेर्ने हेर्दा अनुदान बढ्न सकेको देखिँदैन । वैदेशिक सहायता घट्दा विदेशी मुद्राको संचितिमा समेत चाप पर्ने खनाल बताउँछन् ।अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यनको क्रम दिनदिनै बढ्दै गइरहेको छ ।
सरकारले हरेक तीनचार वर्षमा विभिन्न दातृ निकाय तथा मुलुकसँग अनुदान र वैदेशिक सहायताका विषयमा सम्झौता गर्छ । तर, पछिल्लो चरमा यस्ता सम्झौताको क्रम घट्दै गइरहेको छ ।
जसको कारण नेपालले प्राप्त गर्ने वित्तीय स्रोतमा पनि गिरावट आइरहेको छ । सरकारले आन्तरिक उत्पादन बढ्न सकेको छैन भने केही समय लगाएको प्रतिबन्धकै कारण पनि राजस्व संकलनमा असर देखिएको छ ।
लक्ष्यको आधा पनि प्राप्त भएन
पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने सरकारको लक्ष्यको आधा पनि वैदेशिक सहायता प्राप्त हुन सकेको छैन । गत आर्थिक वर्षमा ५९ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक अनुदानबाट बजेटको खर्च व्यहोरिने लक्ष्य राखिएको थियो । सोमध्ये जम्मा ४२ प्रतिशत अर्थात् २५ अर्ब ९१ करोड रुपैयाँ मात्र प्राप्त भएको छ ।
त्यसैगरी, आव २०७४/७५ मा ७२ अर्ब १६ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्तिको लक्ष्य लिएकोमा ३४ अर्ब ७१ करोड रुपैयाँ प्राप्ति भएको अर्थमन्त्रालयको तथ्यांकले देखाउँछ । आव २०७५/७६ मा २९ अर्ब ५८ करोड रुपैयाँ अनुदान नेपालले पाएको छ । जबकि यस वर्ष ५८ अर्ब ८१ करोड पाउने लक्ष्य राखेको थियो ।
२०७६/७७ मा ५७ अर्ब ९९ करोड रुपैयाँ लक्ष्य रहेकोमा १९ अर्ब १९ करोड रुपैयाँ प्राप्ति भएको थियो । २०७७/७८ मा ६० अर्ब ५२ करोड लक्ष्य रहेको थियो भने २६ अर्ब ७९ करोड प्राप्त गरेको थियो ।
सरकारको चालु आर्थिक वर्षमा ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ अनुदान प्राप्तिको लक्ष्य लिएको छ । आर्थिक वर्षको साढे पाँच महिनासम्म लक्ष्यको ६ प्रतिशत मात्र अनुदान प्राप्त गरेको महालेखा नियन्त्रकको तथ्यांकले देखाउँछ । जसअनुसार चालु वर्षमा पनि पूरा नै अवस्था दोहोरीने देखिएको छ । मंसिर तेस्रो सातासम्म सरकारले ३ अर्ब ४१ करोड रुपैयाँ मात्र प्राप्त गरेको देखिन्छ ।